काठमाडौं । काठमाडौंबाट पोखराका लागि उँडेको सौर्य एयरलाइन्सको विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भयो । एयरलाइन्सका उच्च प्राविधिक कर्मचारीहरूको टोली बोकेर उडेको विमान २० सेकेण्डमा नै दुर्घटना भएको थियो । सरकारले घटनाको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ । यसरी विमानस्थलभित्रै भएको दुर्घटनाले नेपाली हवाई क्षेत्र कति असुरक्षित छ भन्ने देखाएको छ ।
त्यसो त विमानस्थलभित्रै भएको दुर्घटनाको यो पहिलो घटना भने होइन । यसअघि २०७४ को फागुनमा बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको युएस-बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ५१ जना यात्रुको मृत्यु भएको थियो । त्यस क्रममा जहाज ‘ल्यान्ड’ हुनुपर्ने विन्दु काटेर गलत विन्दुबाट अवतरण गर्दा दुर्घटना भएको बताइएको थियो । सो विमानपछि विमानस्थलमै भएको दुर्घटना यो पहिलो हो ।
काठमाडौं उपत्यकाभित्र जहाज दुर्घटनाको शृंखला
नेपालमा जहाज दुर्घटनाको पहिलो घटना विसं २०१२ बाट नै सुरु भए पनि काठमाडौंवासीले बिर्सनै नसक्ने घटना भने २०४९ सालमा घटेको थियो । नेपालको विमान दुर्घटनाको इतिहास केलाउँदा सबैभन्दा ठूलो र बढी मानवीय क्षति भएको दुर्घटना विसं २०४९ साल असोज महिनाको १२ गते ललितपुरको भट्टेडाँडामा भएको दुर्घटनालाई लिन सकिन्छ। पाकिस्तानबाट नेपाल आउँदै गरेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको उक्त विमान दुर्घटनामा ३६ जना नेपाली नागरिकसहित विमानमा सवार सबै एक सय ६७ जना यात्रीको निधन भएको थियो ।
भक्तपुरको मनोहरा फाँटमा भएको सीता एयरलाइन्सको विमान पनि २०६९ असोज १२ गते नै दुर्घटना भएको थियो । यसमा १९ जनाको निधन भएको थियो । त्यसको एक वर्ष पहिले ०६८ असोज ८ गते ललितपुरको कोटडाँडामा बस दुर्घटनामा भएको थियो । जसमा १९ जनाको मृत्यु भएको थियो ।