काठमाडौं । काठमाडौंको ढलमा पोलियोको संक्रमण भेटिको केही दिनमा नै ललितपुरको पानीमा हैजाको जोखिम बढेको भेटिएको छ । मंगलबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका लागि आएका एक बिरामीमा हैजा पुष्टि भएको अस्पतालले जनाएको छ । हैजा पुष्टि भएका व्यक्ति ललितपुर गोदावरी नगरपालिका वडा नम्बर १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका एक किशोर रहेको पुष्टि भएको छ । सोही स्थानबाट सोमबार आएका अर्को युवकमा पनि हैजाको शंका गरेर परीक्षण गरिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष १३ देखि ४० लाख मानिस हैजाबाट पिडित हुन्छन् र २१,००० देखि १,४३,००० मानिसको मृत्यु हैजाबाट हुने गर्छ । नेपालले वर्षेनि वर्षायाममा बाढी र पहिरोको सामना गर्नु मात्र होइन, सुरक्षित खानेपानीको अपर्याप्त आपूर्ति र खुला दिसाको उच्च दरका कारण ग्रामीण तथा शहरी क्षेत्रमा हैजाको डर बढ्ने गर्छ ।
हैजा एक आत्याधिक चाडोँ सर्ने रोग हो । विशेषत, फोहोर पानी तथा फोहोर खानेकुरामा हैजाको जीवाणु पाइन्छ । हैजाको जीवाणु मानिसको शरिरमा छिरेको १२ घण्टा देखि ५ दिनमा हैजाको लक्षण देखिन थाल्छ । यस रोगका बिरामीले समयमै उपचार नपाए मृत्यु हुने सम्भावना बढी हुन्छ ।