काठमाडौं खबर साउन ७, २०८१
काठमाडौं । आज यस वर्षको पहिलो साउने सोमबार । सौरमासअनुसार पहिलो साउने सोमबारको व्रत साउन ७ गते सोमबारदेखि सुरु भएको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताउँछन् । यही मान्यताको आधारमा पशुपतिमा भक्तजनहरूको घुइँचो लागेको छ । साउनको सोमबार पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लामको व्यवस्था गरिएको छ । उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलस्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । पशुपतिनाका चारै ढोका सोमबार बिहान साढे तीन बजेदेखि नै भक्तजनका लागि खुला गरिने भएको छ ।
साउनको सोमबार पशुपति क्षेत्रमा ११ संस्थाका स्वयंसेवक खटाइएको छ । विभिन्न संस्थाले स्वास्थ्य शिविर, निःशुल्क भोजन, खोजखबरको कक्ष पनि सञ्चालन गर्न लागेका छन् । साउनको सोमबार पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ । बोल बम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजन पनि साउनमा लाखौँ हुने गरेका छन् ।