काठमाडौं खबर साउन ५, २०८१
काठमाडौं । प्रधानमन्त्रीलाई विश्वासको मत दिने बारेमा निर्णय गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्ने भएको छ । दिउँसो १ बजे संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।
त्यसभन्दाअघि दिउँसो १२ बजेका लागि बैठक बोलाइएको हो । बैठकले प्रधानमन्त्रीको विश्वासको मत दिने विषयमा ह्विप जारी गर्ने सम्भावना रहेको छ ।
बैठक दिनको १२ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ । गत असार १७ गते कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाएसँगै गत असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए।