काठमाडौं । पटकपटक प्रधानमन्त्री बन्दा गलत सल्लाहकारका कारण राम्रो काम गर्न नसकेको आरोप खेप्दै आएका केपी शर्मा ओलीले कोर टिममा फेरि पुरानै टिम ल्याएका छन् । पहिले महान्यायाधिवक्तामा रहेश बडाललाई नियुक्त गरेका ओलीले बिहीबार प्रमुख सल्लाहकार र आर्थिक सल्लाहकार नियुक्त गरे । जसमा पुरानै टिम फर्किएको छ ।
संसद् विघटन गर्न ओलीलाई सुझाव दिने रमेश बडाललाई दोहोर्याएर महान्यायाधिवक्ता नियुक्त गराएका छन् । सरकारको प्रमुख कानुनी सल्लाहकार समेत रहेको महान्यायाधिवक्ताको कार्यालयका तत्कालीन प्रमुख बडालकै सुझाव अनुसार केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा संसद् विघटन गरेका थिए । विघटनको पक्षमा बडालले सर्वोच्च अदालतमा पनि बहस गरेका थिए ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक र आर्थिक सल्लाहकार नियुक्त गरेको छ । बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक सल्लाहकारमा एमाले उपमहासचिव विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो।
रिमाल यसअघिका कार्यकालमा पनि ओलीका राजनीतिक सल्लाहकार थिए। खतिवडा २०७४ सालमा बनेको मन्त्रिपरिषद्मा अर्थमन्त्री थिए । त्यसपछि उनी अमेरिकाका लागि राजदूत पनि नियुक्त भएका थिए। उनी नेपाल राष्ट्र बैंकको गभर्नर र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पनि भइसकेका छन्। त्यस्तै, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य यसअघि नै नियुक्त भइसकेका छन्।
काठमाडौं क्षेत्र नं ४ का एमाले उम्मेदवार डा राजन भट्टराई यसअघि परराष्ट्र सल्लाहकार नियुक्त भएको भए पनि यसपालि भने अहिलेसम्म भइसकेका छैनन् ।