काठमाडौं । पशुपतिमा कोटीहोम महायज्ञ सुरु भएको छ । मानवसेवा फाउन्डेसनको मुख्य आयोजनामा एक महिनासम्म चल्ने यो महायज्ञमा एकसय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिकमन्त्रसहित अनवरत रूपमा नियमित हवन, पाँच हजार १०० दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रूपमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
मंगलबार एक कार्यक्रमका बीच कोटी होमको उद्घाटन पशुपति मन्दिरका प्रमुख राहुल गणेश भट्टले उद्घाटन गरेका थिए । कोटीहोम महायज्ञको पहिलो दिन ठूलो सङ्ख्यामा भक्तजन देखिएका थिए । पहिलो दिन करिब पाँच हजार बढी भक्तजनको सहभागिता रहेको कोटीहोम आयोजक समितिले जनाएको छ । मानवसेवा फाउण्डेसनका संस्थापक तथा पशुपति कोटीहोम महायज्ञका सङ्कल्पकर्ता विजय कृष्णमूर्ति महाराजको अध्यक्षतामा सुरु कोटीहोम महायज्ञ उद्घाटनमा
सांसद शेरबहादुर कुँवर, ज्ञानबहादुर शाही, पशुपति विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापा, किरात धर्मगुरु डा चन्द्रकुमार शेर्मालगायत लामा गुरु, बौद्ध धर्म गुरुलगायतको सहभागिता रहेको थियो ।
उद्घाटनको दिनबाट सुप्रसिद्ध कथावाचिका राधिका दासीले शिवमहापुराण र देवी प्रतिभाले श्रीमद्भागवतको कथा शुभारम्भ गरेका थिए । दैनिक बिहान ८ बजेदेखि २ बजेसम्म कथावाचिका दासी र दिउँसो २ बजे देखि ७ बजेसम्म देवी प्रतिभाले कथा प्रवचन गर्ने आयोजकले जनाएको छ । त्यसका साथै रुद्री पाठ, १८ पुराणपाठ, एक सय आठ श्रीमद्भागवत पाठ र सप्तचण्डी पाठ पनि सुरु भएको छ ।