![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
काठमाडौं । पटकपटक विश्वासको मत लिँदै जोगिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज फेरि विश्वासको मत लिँदैछन् । शुक्रबार बिहान ११ बजेको लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा उनले मत लिने कार्यतालिका रहेको छ ।
सरकारमा रहेका एमालेलगायत दलले समर्थन फिर्ता लिँदै मन्त्री फिर्ता बोलाएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई रोक्ने प्रयास स्वरूप उनले विश्वासको मत लिन लागेको विश्लेषण गरिएको छ । सरकारमा रहेका दलले समर्थन फिर्ता लिएको अवस्थामा एक महिनाभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् ।
अहिलेसम्मको हिसाब हेर्दा प्रधानमन्त्री प्रचण्डलाई उनकै दल नेकपा (माओवादी केन्द्र)बाट ३२, नेकपा (एकीकृत समाजवादी)बाट १० मत आउनेछ । यी दुवैको संसदीय दलको बैठक बसेर निर्णय गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डलाई रास्वपाले २१ मत दिए भने उनको पक्षमा ६३ मत आउने देखिन्छ । यद्यपि, उसले निर्णय भने गरिसकेको छैन । शुक्रबार बिहान ९ बजेका लागि संसदीय दलको बैठक बोलाइएको छ । राजीनामा बोकेर सिंहदरबार पुगेका रास्वपा नेताहरू प्रधानमन्त्रीको आग्रहपछि फिर्ता भएकोले उनीहरूले सरकारलाई विश्वासको मत दिने सम्भावना देखिन्छ ।