काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं १० मा संघीय सांसदसँग स्थानीयको अन्तर्संवाद कार्यक्रम सम्पन्न भएको छ । कपनको मिलनचोकस्थित पाटी भेन्यू पञ्चकुमारीमा बुधबार सम्पन्न कार्यक्रममा स्थानीय पार्टी नेता तथा कार्यकर्ताहरुले काँग्रेस महामन्त्री समेत रहेका गगन थापासँग एमालेसँगको सहकार्यको आवश्यकताका बारेमा प्रश्न गरेका थिए ।
जवाफमा महामन्त्री एवं सांसद थापाले वर्तमान प्रणालीभन्दा संशोधित विधानबाट अग्रगामी परिणाम निकाल्न सहज हुने भएकाले एमालेसँग सहकार्य गर्नुपरेको स्पष्ट पारेका थिए । उनले यो गठबन्धनले मुलुकको राजनीतिक स्थायित्वका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्थानीयले नगर अस्पतालमा संघीय सांसदको अनुपस्थितिको बारेमा पनि प्रश्न गरेका थिए । मेयरले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाएर उद्घाटन गरेको कार्यक्रममा संघीय सांसद थापालाई उपेक्षा गरेर निमन्त्रणा गरेको भन्दै विरोध भइरहेको छ । सोही कार्यक्रममा समेत प्रमुख अतिथि ओलीले यस क्षेत्रका संघीय सांसद खोई त ? भनेर सार्वजनिक रूपमा नै बोलेपछि आयोजक लज्जित बन्नुपरेको थियो । यो कार्यक्रमको बारेमा पनि थापाले स्पष्ट पारेका थिए ।
त्यस्तै। कार्यक्रममा सांसदको पहलमा भएगरेका विकासका योजना र सामाजिक कार्यहरू जनस्तरसम्म पुर्याउन पार्टी चुकेको विषयमा पनि छलफल भएको थियो । कार्यक्रममा प्रदेश सांसद मीना पराजुलीले पार्टीको शुद्धीकरण र सवलीकरणमा लाग्नुपर्नेमा जोड दिएको कार्यक्रमको आयोजक नेपाली काँग्रेस वडा नं १० का सभापति नारदमणि घिमिरेले जानकारी दिए ।