

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने निर्णय गरेको छ । बुधबार रातिसम्म बसेको केन्द्रीय समिति बैठकमा अनुशासन उल्लंघनको मुद्दामा कारबाही गर्ने निर्णय भएको हो । दिनभरि चलेको केन्द्रीय समिति बैठकमा मुकुल ढकालले विरोधस्वरुप मुखमा कालोपट्टि बाँधेर बैठकमा उपस्थित भएका थिए ।
बैठकले महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकाललाई कारबाही गर्ने निर्णय गरेसँगै रास्वपाको कार्यवाहक महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई दिएको छ । त्यस्तै, प्रवक्ताको जिम्मेवारी मनिष झा दिने निर्णय पनि पार्टीले गरेको छ ।
पार्टीको केन्द्रीय समितिको बैठकले अनुशासन र विधिको पालनाको सम्बन्धमा सात दिन अध्ययन गर्ने र दोषी देखिए सात दिनपछि बर्खास्त गर्ने निर्णय पनि गरेको छ ।