काठमाडौं । गत साता सरकार नै फेरबदल हुनेगरी नेकपा माओवादीसँग हात मिलाएको नेकपा एमालेले तत्कालका निम्ति उक्त मिलन “सरकारमा सहकार्यका लागि मात्र सीमित रहने” बताएको छ। यद्यपि एमालेबाटै टुक्रिएर बनेको पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग भने निकट भविष्यमा एकता हुने खालको संवाद सुरु हुनसक्ने कतिपय नेताहरूको भनाइ छ।
शुक्रवार केन्द्रीय सचिवालयको बैठकपश्चात् पार्टीभित्रको मनस्थितिबारे सोध्दा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले बीबीसीसँग भने, “अहिले मुलुकलाई फाइदा हुनेगरी सरकार सञ्चालन गर्छौँ। यो सहकार्यले हामीलाई क्रमश: नजिक ल्याउने काम गर्छ र भविष्यमा परिस्थिति बलियो बन्दै गयो र विचार मिल्दै गयो भने पार्टी एकताको सम्भावना पनि हुनसक्छ।“
उनले विगतमा हतार गरेर एकीकरण गर्दा त्यो टिक्न नसकेको स्मरण गर्दै यसपालि एमाले त्यस्तो हतार गर्ने पक्षमा नरहेको बताए। एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले चाहिँ “अहिले कुनै पनि दलसँग एकीकरणको कुरा सुरु नभएको” भए पनि नेतृत्वबीचको व्यक्तिगत “तुष” बाहेक नेकपा एकीकृत समाजवादीसँग एकीकरणको सम्भावना अधिक रहेको बताए।
“अब नेताहरू पनि भेटघाट र छलफल गर्न थाल्नु भएको छ। एकीकृत समाजवादीसँग त हाम्रो वैचारिक, नीतिगत र कार्यगत कुनै पनि कुरा फरक छैनन् त्यसैले मिलनबिन्दू खोज्न गाह्रो छैन,” उनले भने। यी दुई दलबीच सरकारमा भइरहेको सहकार्यले अब एकीकरणको पनि आधार बनाएको उनको भनाइ छ।
“नेताहरूबीच उठबस सुरु भएको छ। त्यसले एकताका लागि एउटा राम्रै आधार तयार पारेको छ,” गुरुङले भने। “तर तत्कालै एकता भइहाल्छ भन्नु भन्दा पनि एकताका लागि भ्रूण चाहिँ पलायो भन्न सकिन्छ।” नेकपा एकीकृत समाजवादीका नेताहरू पनि अहिलेको सहकार्यले एकताको सम्भावना बढाएको अस्वीकार गर्दैनन्।
यद्यपि त्यस दिशामा अहिले कुराकानी सुरु नभएको उनीहरूको भनाइ छ। समाजवादीका एकजना नेता प्रकाश ज्वाला भन्छन्, “पहिलेको सम्बन्धमा स्वभाविक रूपमा सुधार हुन थालेको छ। छलफल र सहकार्यले त्यसलाई बढाउँदै लानेछ र भविष्यमा एकता पनि हुनसक्छ।” “तर अहिले हाम्रो पार्टीका तर्फबाट र एमालेकै तर्फबाट पनि एकीकरणका लागि पहल सुरु भएको छैन। त्यसबारे हामीबीच वार्ता र छलफल पनि भएका छैनन्।” उनी नेताहरूबीच “मन माझामाझ भएपछि” एकताको सम्भावना विस्तार हुने ठान्छन्।बीबीसी