काठमाडौं । सवा वर्षमा प्रचण्ड तीन पटक प्रधानमन्त्री बनेका छन् । नयाँ समिकरणसहित आजै तेस्रो पटक उनले मन्त्रीमण्डल विस्तार गरेका छन् । आफ्ना निकटहरूलाई मन्त्री बनाउँदै उनले वाम एकताका नयाँ प्रोजेक्ट पनि देखाएका छन् । नयाँ सरकामा माओवादी केन्द्र र रास्वपाले तामझामपूर्ण रूपमा आफ्ना पहिलो दर्जाका नेताहरूलाई मन्त्री बनाएको छ । तर नयाँ समिकरण बनाउन सबैभन्दा ठूलो भूमिका खेल्ने दल नेकपा एमालेले भने आफ्नो कुनै पनि पहिलो श्रेणीको नेतालाई सरकारमा पठाउन चाहेन । त्यतिमात्र नभै एमालेले मुख्य आकर्षक मन्त्रालय पनि लिएको छैन । भौतिक योजनामन्त्री बनेर रघुबिर महासेठले एमालेको नेतृत्व गरेका छन् ।
नयाँ सरकारमा ठूलो दल नेकपा एमालेले किन सामान्य मन्त्रालय र दोस्रा तेस्रो लाइनका नेताहरूलाई मन्त्री बनाएर चित्त बु्झायो ? यो प्रश्न चारैतिर उब्जिएको छ । मन्त्रीमण्डल विस्तारका बेला नेकपा एमाले अध्यक्ष काठमाडौमैं नरहनुदेखि एमालेका मुख्य ठूला नेताहरू पनि सरकार बनाउने परिदृष्यमा कतै नदेखिनुले नेपाली राजनीतिमा नयाँ केही परिकार पाक्ने तरखर पनि भैरहेको हुनसक्ने आँकलन गरिन थालेको छ । अर्थमन्त्री दावी गरेको एमालेले सहजै माओवादी केन्द्रलाई अर्थ मन्त्रालय छाड्नुदेखि राष्ट्रियसभा अध्यक्ष पनि माओवादी केन्द्रलाई बनाउने निर्णय गरेकोसम्म कुरालाई विश्लेषण गर्ने हो भने समिकरणको नयाँ राजनीतिक परिदृष्य पटाक्षेप हुन धेरै बेर नलाग्ने अनुमान गर्न थालिएको छ ।
यसैबीच प्रचण्ड नेतृत्वको सरकारमा नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान तथा परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठ, अर्थ मन्त्री वर्षमान पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीमा शक्तिबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा हितबहादुर तामाङ रहेका छन्।
एमालेले ८ वटा मन्त्रालय पाएको छ। एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रघुवीर महासेठ, कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्र राई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दामोदर भण्डारी, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा ज्वालाकुमारी साह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी रहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयसहित ४ वटा मन्त्रालयको जिम्मेवारी पाएको छ। पार्टी बैठकको निणर्य अनुसार गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सुमना श्रेष्ठलाई पठाइएको रास्वपाका महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए।