काठमाडौं खबर असार १६, २०८१
काठमाडौं । नेपालमा संसदीय इतिहासको ६५ वर्ष पूरा भएको छ । देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिनको सम्झनामा वैशाख १६ गते संसद् दिवस पनि मनाइँदै आइएको छ ।
मुलुकमा प्रजातन्त्र स्थापना भएको करिब ८ वर्षपछि विसं २०१५ सालमा पहिलो आमनिर्वाचन भएको थियो । सोही निर्वाचनपछि गठित संसद्को पहिलो बैठक २०१६ असार १६ मा बसेको थियो । सोही बैठकले सभामुख निर्वाचन प्रक्रिया सुरु गरेपछि असार १९ गते पहिलो सभामुखको रूपमा स्व. कृष्णप्रसाद भट्टराई नेपाली काँग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।
मुलुकमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस मनाउने गरिएको छ । भट्टराई २०१७ साल पुस १ गतेसम्म सभामुखको भूमिकामा क्रियाशील रहे । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था घोषणा गरेपछि जननिर्वाचित संसद् भङ्ग भएको थियो ।
यसरी सुरु भएको संसद् पछिल्लो समय भने कमजोर बन्दै गएको छ । सरकारलाई झक्झक्याउने र जनताको माग उठाउने थलोको रूपमा रहेको संसद अहिले सरकार र सत्तारुढ दलको कब्जामा जान थालेको छ । विपक्षीलाई पेल्ने र सत्ता पक्षीय दलको हितमा काम अघि बढाउने काममा पछिल्लो समय संसद् प्रयोग हुँदै आइरहेको छ । लोकतान्त्रिक संसद्को आधारभूत चरित्र भनेको पारदर्शी, जनउत्तरदायी र समावेशी आवाजलाई प्रतिनिधित्व गर्ने हो । तर दलीय राजनीति हाबी हुँदा पछिल्लो समय संसद् भने कमजोर बन्दै गइरहेको छ ।