काठमाडौं । फुटबलर्स मिसन टुगेदरले ८५ खेलाडि सहित फुटबल क्षेत्रका १०४ जनालाई सम्मान गरेको छ । मंगलबार एक कार्यक्रम आयोजना गर्दै संस्थाले खेलाडी, प्रशिक्षक, रेफ्री लगायत यस क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा सन् १९८८ देखि हालसम्म विभिन्न खेलमा संलग्न भएका २५ महिला र ६० जना पुरुष खेलाडीलाई सम्मान गरिएको थियो । उनीहरुलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको हो ।
त्यस्तै, दुई जना वरिष्ठ प्रशिक्षक, दुई जना वरिष्ठ रेफ्री, फुटबल खेलमा समर्पित भई दिवंगत हुनु भएका १३ जनाको परिवारलाई समेत मरणोपरान्त कदरपत्रसहित सम्मान गरिएको थियो । सोही अवसरमा लामो समय खेलकुद पत्रकारितामा लाग्नु भएका फोटो पत्रकार श्याम चित्रकार, संस्थाका मानार्थ अध्यक्ष विष्णु गोपाल श्रेष्ठ नेपाल खेलकुद पत्रकार मञ्चलाई समेत कदर पत्रसहित सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रमको मुख्य प्रायोजकमा नागार्जुन नगरपालिकाले गरेको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत, अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज विक्रम नेम्वाङ, राखेपका बोर्ड सदस्य पेमा लामा, विना श्रेष्ठ लगायतको उपस्थिति थियो ।
कार्यक्रममा उपस्थित पूर्व प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेलले मुठ्ठी दानको अवधारणा लिएर खेलाडीको जीवन उकास्नुपर्ने धारणा राखे । कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थाले आर्थिक सहयोगको प्रतिबद्धता गरेका थिए । विभिन्न व्यक्ति तथा संस्थाले गरेको प्रतिबद्धता रकम तल उल्लेख गरिएको छ ।