काठमाडौं । बर्खामा मेलम्ची पानीको विकल्पमा काठमाडौंवासीको तिर्खा मेटाउन धाप ड्यामको पानी प्रयोग गरिने भएको छ । काठमाडौं उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको सो ड्यामबाट ३२ करोड लिटर पानी सापटी लिएर काठमाडौंवासीको तिर्खा मेटाउने बारेमा मेलम्ची खानेपानी विकास समिति र एकीकृत बागमती सभ्यता विकास समितिबीच चार बुँदे सहमति भएको हो ।
आइतबार भएको सो सहमतिमा मेलम्चीका सिनिएर डिभिजन इन्जिनियर वीरेन्द्र कँडेल, बागमती सुधार आयोजनाका आयोजना प्रमुख रवीन्द्र बोहरा तथा केयुकेलबाट प्रमुख कार्यकारी अशोक पौडेलले हस्ताक्षर गरेका छन्। जस अनुसार, धाप ड्यामको पानी सुन्दरीजल पानी प्रशोधन शाखा मार्फत केयुकेएललाई प्रवाह गर्ने, उक्त प्रवाह गरिएको पानी सुख्खा याममा सुन्दरीजल पानी प्रशोधन शाखाको ३० नम्बर गेटबाट मेलम्चीको पानी शोधभर्ना स्वरूप बागमती नदीमा प्रवाह गर्ने सहमति भएको छ।
काठमाडौँको चाबहिलबाट करिब ३५ किलोमिटर दूरीमा रहेको यो ड्यामको अवधारणा झण्डै एक दशक अगाडि सुरु भए पनि पछिल्ला वर्षमा निर्माण कार्यले मूर्तरुप लिएर अहिले ड्याम पूर्ण रूपमा निर्माण सम्पन्न भइसकेको छ । एक सय ७४ दशमलव सात मिटर लम्बाई र आठ मिटर चौडाइ रहेको बाँध निर्माणपछि बनेको जलाशयको क्षेत्रफल १५ हेक्टर रहेको छ । यो ड्याममा ८ लाख ५० हजार घनमिटरभन्दा धेरै पानी संकलन गर्न मिल्छ । वर्षात्को समयमा यहाँ जम्मा गरिएको पानी हिउँदको समयमा प्रतिसेकेन्ड चारसय प्रतिलिटरका दरले बागमतीमा छोड्ने योजना रहेको छ । बर्खाको समयमा यहाँ पानीको प्रवाह बढ्ने र हिउँदमा पानीको प्रवाह कम हुने हुँदा सापटी दिइएको बागमती सुधार आयोजनाले जनाएको छ ।
बागमती सुधार आयोजनाका सिचाइ युनिट प्रमुख निश्चल छतकुलीका अनुसार धाप ड्याममा हाल करिब १ अर्ब लिटर पानी छ। यसको अधिकतम क्षमता १ अर्ब ४६ करोड हो। बागमतीले मेलम्चीलाई ३२ करोड पानी दिने दिने हो भने प्रति सेकेन्ड ४ सय लिटरको दरले पठाउँदा ९ दिन चार घण्टा लाग्छ। धाप ड्याममा न्युनतत ७० करोड लिटर हुन आवश्यक छ। ‘त्यसैले हामीले मेलम्चीलाई बढीमा ९ दिन ४ घण्टा पानी दिन सक्छौ’ उनले भने। धाप ड्याम बागमती नदिको सहायक नदी बागमतीको उद्गम स्थल हो। यहीबाट बागमती सुरु हुन्छ।