काठमाडौं । नेकपा एमाले बुढानीलकण्ठ नगर अधिवेशनको मिति नजिकिँदो छ । चैत्र महिनाको १६ र १७ गते हुने अधिवेशनमा नगर अध्यक्ष पद सर्वसम्मत भने नहुने देखिएको छ । बुढानीलकण्ठमा आफ्नो सेटिङ चलाउँदै आएका जिल्ला अध्यक्ष दीपक निरौलाको आफ्नो मान्छे प्रदीप डंगोललाई दोस्रो कार्यकाल पनि सर्वसम्मत अध्यक्ष बनाउने इन्ट्रेस्ट भने सफल नहुने देखिएको छ ।
पार्टीका लागिभन्दा दीपक निरौलाका लागि काम गर्ने व्यक्तिका रूपमा परिचित डंगोल पार्टीका लागि आवश्यक छैन भनेर आवाज़ उठिरहेको बेला पुराना नेता ध्रुव भट्टराईले नगर अध्यक्षका रूपमा दावी प्रस्तुत गरेका छन् । पार्टी संगठन टीके प्रथाबाट बाहिर निस्किन पर्छ भन्ने अभियानका साथ भट्टराईले अध्यक्ष पदमा उम्मेदवारी फिर्ता नलिने गरी आफूले दावी गरेको बताएका छन् ।
ध्रुव भट्टराई पार्टीभित्र अध्यक्ष केपि ओलीका “भक्त” भनेर चिनिने गर्छन् । लामो समयदेखि राजनीतिमा सक्रिय रहेका भट्टराई पार्टीलाई कहिल्यै घात प्रतिघात नगरेका नेताकारूपमा परिचित छन् । बुढानीलकण्ठमा सिजनल एमालेदेखि गगन एमालेसम्मको बिगबिगी रहेको बेला भट्टराई यो आक्षेपबाट सदैव मुक्त पात्र हुन् ।
उता जिल्ला अध्यक्ष दीपक निरौलाले आफ्नो अनुकुलतालाई प्रयो गरिरहेका प्रदीप डंगोलको छवि छर्लङ्ग छैन । उनको सडकमै यातायात मजदुरलाई कुटपिट गरेको भिडियोदेखि बिभिन्न काण्डहरू रहेको बताइन्छ । डंगोल इश्वर पोखरेल निकट कार्यकर्ता हुन् । पोखरेलकै क्षेत्रका उनी दीपक निरौलाका गोटी बनिरहे पनि राजनीतिकरूपमा पोखरेलबाटै दिक्षित मानिन्छन् ।
यसरी एमाले नगर अध्यक्षमा “इश्वरभक्त” डङ्गोलमाथि “ओलीभक्त” भट्टराइको धावाले दीपक निरौलाको इन्ट्रेस्टमा आघात पुग्ने देखिएको छ । यो आघात कति दरिलो हुन्छ त्यो अधिवेशनपश्चात थाहा भए पनि नगर अध्यक्ष सर्वसम्मत भने नहुने स्पष्ट देखिएको छ । निरौलाको शैलीबाट आक्रान्तझैँ भएको बुढानीलकण्ठ एमाले भट्टराईको उम्मेदवारीमार्फत ‘निरौलागिरी’ माथि बर्सिन सक्ने अपेक्षा गर्न भने सकिन्छ ।