काठमाडौँ । सिंगो विश्व जलवायु परिवर्तनले आक्रान्त छ । हिउँ हराएको छ। पानी सुकेको छ। जाडो घटेको छ । तातो बढेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असरले विश्वभरका हरेक नागरीकलाइ छोएको छ । नेपाल पनि जलवायु परिवर्तनसँग सम्बन्धित माथिका सबै विषयबाट प्रत्यक्ष प्रभावित छ।
यसै सन्दर्भमा काठमाडौँका सडकले पनि जलवायु परिवर्तनको सन्देष दिइरहेको छ । वसन्त ऋतुमा सबै बोटबिरुवाहरुको पुरानो पात झर्छ र नयाँ पात पलाउँछ। वसन्त ऋतुमा जताततै हरियाली हुन्छ। जुन ऋतुलाई सबैले मन पराउँछ । त्यसैले यस ऋतुलाई ऋतुराज पनि भन्ने गरिन्छ । तर, पछिल्लो समय विश्वमा जलवायु परिवर्तनका कारण बसन्त ऋतुअघि नै कैयन बोटबिरुवाका पात झर्ने, नयाँ पालुवा पलाउने मात्रै नभई ढकमक्क फूलै फुल्ने गरेको छ ।
वसन्त ऋतु शिशिर ऋतु र गृष्म ऋतुको बीच अर्थात् नेपालमा चैत र वैशाख महिनालाई लिने गरिन्छ । अहिले काठमाडौं उपत्यकाका ललितपुर, भक्तपुरसहित देशभरका विभिन्न क्षेत्रमा चेरीलगायत फूल फुलेकाले प्राकृतिक सुन्दरता थपिएको छ । सडक विस्तार र खानेपानी योजनाका कारण धूलोधुवाँ र प्रदूषणले ढाकिएको सहर बजार क्षेत्रमा बोटबिरुवामा पलाएको पालुवा र फुलेका फूलले नागरिकलाई केही राहत मिलेको देखिन्छ ।