

काठमाडौं । अमेरिका पठाउने आश्वासनमा ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका-७ का ३६ वर्षीय लोकबहादुर राउत रहेका छन् । उनी हाल काठमाडौंस्थित गोँगबुमा बस्दै आएका थिए ।
प्रहरीका अनुसार राउतले पीडितहरूलाई अमेरिका जान प्रतिव्यक्ति ८० लाख रुपैयाँ लाग्ने बताएका तिए । अमेरिकामा मासिक सात लाख ५० हजार रुपैयाँसम्म तलब हुने प्रलोभन देखाएर उनी दुई जनाबाट ६० लाख रुपैयाँ लिएर फरार भएका थिए । राउतलाई गोँगबुबाट पक्राउ गरिएको हो । आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।