सुर्खेत । गत २० फागुनमा नेपाली कांग्रेस तथा माओवादी केन्द्रलगायतका दलहरू सम्मिलित गठबन्धनमा आएको फेरबदलको प्रभावले कर्णाली तीन मन्त्रालय मन्त्रीविहीन बनेका छन् । कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएपछि आर्थिक मामिला तथा योजना, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मन्त्रिविहीन बनेका छन् । जसले मन्त्रालयबाट हुने दैनिक कार्यसम्पादनमा असर परिरहेको जनाइएको छ ।
चालु आर्थिक वर्ष सकिने मिति नजिकिँदै जाँदा तालुकदार मन्त्रालय मन्त्रीविहीन हुँदा प्रदेश सरकारले अघि सारेका नीति तथा कार्यक्रम कार्यान्वयनमा जटिलता उत्पन्न हुने जानकारहरू बताउँछन् । माओवादी र एमालेलगायतका दलहरूबीच बनेको नयाँ गठबन्धनमा कर्णालीको नेतृत्व कसले लिने भन्ने विषय केन्द्रले टुङ्गो नलगाउँदा नेताहरू आफूअनुकूल माहौल बनाउनमा लागिपरेका छन् ।
कणर्ालीमा एमाले र माओवादी मिल्दा बहुमतको सरकार बन्ने भए पनि यी दुई दलबीच पहिला कसले सरकारको नेतृत्व लिने भन्ने विषय टुङ्गो नलाग्दा नयाँ मन्त्रीमण्डल विस्तारमा अन्योल छाएको छ । हाल सरकारको नेतृत्व गरिरहेको माओवादीले आलोपालोको भागवण्डाअनुसार एमालेलाई सरकारमा सहभागी गराएर मुख्यमन्त्री राजकुमार शर्मालाई निरन्तरता दिन केन्द्रीय नेतृत्वसँग लबिङ गरिरहेको छ । यसका लागि माओवादीका प्रदेश इन्चार्ज कालिबहादुर मल्ल, प्रदेश अध्यक्ष विमला केसी तथा मुख्यमन्त्री राजकुमार शर्मा केही दिनदेखि काठमाडौंमा छन् । उनीहरूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कणर्ालीको नेतृत्वमा पार्टीले निरन्तरता पाउनुपर्ने अडान प्रस्तुत गरिरहेको माओवादीको उच्च स्रोत दाबी गर्छ ।
नयाँ समीकरण बनेसँगै मुख्यमन्त्रीमा एमालेले दाबी गरेपछि माओवादी प्रदेश तहका नेताहरू काठमाडौं पुगेका हुन् । कणर्ालीका नेताहरूले पार्टी अध्यक्ष प्रचण्डसँग अन्य प्रदेशको तुलनामा कणर्ालीमा माओवादीको पोजिसन राम्रो रहेकाले यस विषयमा बेवास्ता नगर्न आग्रह गरेका छन् ।
माओवादी स्रोतका अनुसार माओवादीले नेतृत्व गरिरहेका प्रदेश सरकारहरूलाई नचलाउने गरी गठबन्धनमा सहमति जुटाउने जवाफ पार्टी अध्यक्ष प्रचण्डले दिएका छन् । केन्द्रमा नयाँ बनेको गठबन्धनमा माओवादीले नेतृत्व गरेका प्रदेश सरकारलाई निरन्तरता दिने र कांग्रेसले नेतृत्व गरेका प्रदेशहरूमा एमालेले नेतृत्व लिन गरी सहमति भएको थियो । सो सहमतिअनुसार कणर्ाली र बागमतीमा माओवादीको सरकारले निरन्तरता पाउन सक्ने सम्भावना रहे पनि एमालेले आफ्नो दाबी प्रस्तुत गर्दा मुख्यमन्त्री शर्मा आफैँ आन्तरिक दौडधुपमा लागिपरेका छन् ।
स्रोतका अनुसार अन्य प्रदेशमा लचिलो भए पनि कर्णालीमा कुनै हालतमा सत्ताको नेतृत्व नछोड्ने रणनीतिमा माओवादी छ । माओवादीले बागमती र कर्णालीमा आफ्नो सरकारको निरन्तरता चाहेको छ । यदि यस्तो भएन भने कर्णालीमा विद्रोह गरेर भए पनि आफ्नै नेतृत्वमा सरकार बनाउने तयारीमा माओवादी छलफलमा रहेको माओवादीको उच्च स्रोत दाबी गर्छ ।