काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले अब नेतृत्व महिलाले लिनुपर्ने बताएकी छिन् । बुढानीलकण्ठ नगरपालिका वडा नं ११ ले आयोजना गरेको महिला दिवससम्बन्धि कार्यक्रममा उनले अब स्थानीय ,प्रदेश र संघीय निर्वाचनमा महिलाले नेतृत्व लिनुपर्ने बताएकी हुन् । सामान्य अरूबेलाभन्दा आक्रोशित मुद्रामा देखिएकी अनिताले महिलाहरू फेशबुक र टिकटकको कोकोकोला फिगरमा रमाएको भन्दै अब नेतृत्व लिन तम्सन आँट गर्न पनि भनेकी छिन् ।
मेयर मिठाराम अधिकारीको निवास नजिकैको वडामा आएर उनले अब नेतृत्व लिने पालो महिलाको मात्र भनिनन् पूर्व मेयर उद्धव खरेलको जमेर तारिफ पनि गरिन् । वर्तमान मेयरसँग सम्बन्ध राम्रो नभएको भनेर चर्चा चलिरहेको बेला उपमेयर अनिताले कपन पुगेर उद्धव खरेलको तारिफ गरेकी हुन् । उनले बुढानीलकण्ठको पूर्वाधारसम्बन्धि सबै काम खरेलको पालामा भएको बताएकी थिइन् । उपमेयर अनिताले मेयर मिठाराम अधिकारी तथा भावी मेयरको परिकल्पना भैरहेको नवराज भट्टराइको राजनीतिक आधारभूमिमा गएर उद्धव खरेलको तारिफ तथा अबको नेतृत्व महिलाको भन्नु चर्चाको विषय बनेको छ ॥
नारी दिवसको अवसरमा बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै गर्दा मञ्चमा बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारी तथा प्रवक्ता एवम् वडा नं १० का अध्यक्ष नवराज भट्टराई उपस्थित थिए ।