काठमाडौं । नेपाली समाज दिनदिनै आफ्नो संस्कार र संस्कृतिभन्दा पृथक पश्चिमा सोच शैली एवम् सामाजिक सन्जालग्रस्त मानसकितामा हिँडिरहेको छ । कुनै एक समय थियो नेपालमा डिभोर्स भन्ने कुनै विषय नै भेटिदैनथ्यो । तर अहिले सानो सानो निहुमा डिभोर्स हुने गरेको छ । सानो सानो कुरामा पतिपत्नीबीच बेमेल हुने बित्तिकै डिभोर्स फाइल गरिहाल्ने प्रवृत्तिले समाज रूग्ण र जीवनहीन बनिरहेको छ । कथित स्वतन्त्रताको हवाला दिएर हुने डिभोर्सको मारमा सन्तानहरू परिरहेका दर्जनौँ घटना परिघटना हाम्रा नजिकै भेटिन्छन् ।
विद्यालयको होस्टेलमा १३ वर्षीया बालिका शालीन पोखरेलको दुखद मृत्युले यही विषयको एउटा पाटो बनेको छ । शालीन ३ वर्षको उमेर हुँदादेखि नै शालीनका बाआमाको छुट्टिएका थिए । उनीहरू अहिले आफ्नो आफ्नो बैबाहिक जीवन बिताइरहेको अबस्थामा बालिकाको मृत्यूले हाम्रो समाजको कुरूप पक्षलाइ उजागर गरेको छ । ३ वर्षको उमेरमा डिभोर्स गरेका बाबुआमाबाटै शालीनको मृत्यूलाई तोडमोड र अतिरञ्जित गरेर प्रहरी अनुसन्धानलाई नै प्रभावित पार्ने चिन्ताजनक प्रयासहरू भइरहेको देखिन्छ ।
गत फागुन १२ गते शनिवार होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा शालीनको शव फेला परेको थियो । घटनास्थलको मुचुल्कापछि प्रहरीले पहिलो दृष्टिमै यसलाई आत्महत्या ठहर्यायो । प्रहरीले तत्काल शालीनका बुवालाई फोन गरेर जानकारी गराएको थियो । तर, बुवालगायत परिवारजनले आत्महत्या मान्न तयार भएनन् । प्रहरीलाई निकै दबाब दिएर उनीहरूले विद्यालयका प्रिन्सिपलसहित तीनजनाविरुद्ध किटानी जाहेरी दर्ता गरेका छन् । तीन जनालाई प्रहरीले हिरासतमा लिएको छ । टिचिङ अस्पतालमा शवको पोस्टमार्टम भइसकेको छ । पोस्टमार्टममा बलात्कार भएको देखिएन । झुन्डिएकै कारण मृत्यु भएको पुष्टि भएको छ ।
सानी बालिकालाइ एक्लै होस्टेल राखेर दोस्रो श्रीमतीसँग बसिरहेका शालीनका पिता दीपेन्द्र पोखरेल भने विभिन्न मिडियाहरूमा अन्तरवार्ता दिँदै ‘बलात्कारपछि हत्या भएको’ ठोकुवा गरिरहेका छन् । उनले पेश गरेका तर्कहरू आफै निर्बल देखिन्छन् ।
एउटा अबोध बालिकाले यति डरलाग्दो निणर्य किन र कसरी लिइन् ? यसमा मुख्या दोषी को हो ? मुख्य प्रश्न यही हो । मुख्य दोषी बाबुआमा नै हुन् भन्ने कुरामा कसैको दुईमत नहोला । त्यसैले बालिकालाई होस्टेलमा राखेर आआफ्नो जीवनमा रमाइरहेका बाबु आमा अनुसन्धानको दायरामा तानिन आवश्यक छ । शालीन आफ्नो बुवा र आमाको काखबाट वञ्चित थिइन् । डिभोर्सपछि उनीहरू आआफ्नो घरजम गरेर बसिरहेका छन् र शालीनलाई छात्रावासमा थन्क्याइदिएका छन् । यसरी बुवा-आमाको सामिप्यता गुमाएका बच्चाहरू कस्तो मनोदशामा हुर्किरहेका हुन्छन् भन्ने यो घटनालाइ मिहिन ढंगले विश्लेषण र अनुसन्धान हुन जरूरी छ ।