काठमाडौँ । चाबहिलमा रहेको मनास्लु वर्ल्ड कलेजले समाजमा बिभिन्न महत्त्वपूर्ण योगदान गरेका पाँचजना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्दै कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ । कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा कक्षा १२ मा उत्कृष्ट नतिजा सहित उत्तीणर् विद्यार्थीहरूलाई सम्मानका लागि आयोजना गरिएको एक विशिष्ट कार्यक्रममा पाँच फरक क्षेत्रका विशिष्ट व्यक्तित्व सम्मानित भएका हुन् ।
आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा आयोजना गरेको भव्य कार्यक्रममा गायिका कुन्ती मोक्तानलाई मनास्लु संगीतकर्मी सम्मान २०८०, सञ्चारकर्मी जगदीश खरेललाई मनास्लु सञ्चारकर्मी सम्मान २०८०, एसियाली खेलकुदको करातेतर्फ ऐतिहासिक पदक जिताउने कराँते खेलाडी एरिका गुरुङलाई मनास्लु खेलाडी सम्मान २०८०, शिक्षाकर्मी जयन्ती सत्याल अधिकारीलाई मनास्लु शिक्षासेवी सम्मान २०८० र समाजसेवी बालकृष्ण बुर्लाकोटीलाई मनास्लु समाजसेवी सम्मान २०८० प्रदान गरिएको थियो। उनीहरूलाइ आ-आफ्नो क्षेत्रमा अतुलनीय योगदान गरेवापत कदर गर्दै सम्मान गरिएको कलेजले जनाएको छ ।
सम्मानित व्यक्तित्वहरूलाई कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामा र प्रधानाध्यापक राजन श्रेष्ठले संयुक्त रूपमा सम्मान प्रदान गरेका हुन्।
सम्मान कार्यक्रममा बिभिन्न सम्मानित तथा अन्य कलाकारहरूले प्रस्तुति दिएका थिए । कार्यक्रममा मनास्लु वर्ल्ड कलेजमा अध्यापनरत शिक्षकहरू मध्य कार्यसम्पादनको आधारमा उत्कृष्ट ६ जना शिक्षक/शिक्षिका तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो भने विभिन्न परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो।