काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा फागुन ११ र १२ गते दुई दिन प्रथम बुढानीलकण्ठ संस्कृति तथा साहित्य महोत्सव हुने भएको छ ।
नगरपालिकाले आयोजना गर्न लागेको भनिए पनि महोत्सव भनिएको यस कार्यक्रम नितान्त उपमेयर अनिता लामाको ‘इन्ट्रेस्ट’को कार्यक्रम भएको नगर कार्यपालिका सदस्यदेखि वडाध्यक्षहरूलेसमेत धेरैले बताएका छन् । स्थानीय वुद्धिजिवी तथा साहित्यकारहरूलाई समेत जानकारी नदिकन लुकीछिपीझै गर्न लागिएको महोत्सवका कारण उपमेयर लामाको आलोचित भएकी छिन् ।
राष्ट्रियरूपमा आफ्नो व्यक्तित्व उँचो बनाउन उपमेयर लामा स्टन्ट गर्न लागि परेको भन्दै उनकै पार्टीका कतिपयले दुखेसो समेत व्यक्त गरेका छन् । ०८४ मा हुने चुनावका लागि मेयर उम्मेदवारको आफू अब्बल व्यक्ति भएको भन्ने स्टन्ट गर्न स्थानीयलाई अबहेलना गरेर महोत्सव गर्न लागेको भन्दै उनकै पार्टी पङ्ति पनि निस्क्रिय देखिएको छ ।
नगरपालिकाभित्र २ ठाउँमा आयोजना हुने भनिएको महोत्सव पोखरा तथा जनकपुरमा वर्षेनी हुने लिटरेचर फेस्टिबलको कार्बनकपी कार्यक्रम देखिएको छ । आफ्नो पहुँच देखाउन लामाले कार्बनकपी कार्यक्रम गर्नुको सट्टा बुढानीलकण्ठको मौलिक संस्कृति तथा साहित्यसँग सम्बन्धित महोत्सव गर्न पर्ने थियो भन्ने सरोकारवालाको टिप्पणी रहेको छ ।
स्थानीय सहभागिताको नाममा लगभग एउटै पार्टीका मानिसमध्ये पनि दुइचारजनामात्र(अनिताको मनले खाएका) समेट्दा स्थानीय प्रतिभा तथा स्रष्टाप्रति अवहेलाना एवम् अपमान भएको पनि सरोकारवालाहरू औँल्याएका छन् । ८ दर्जनभन्दा धेरै कवि, साहित्यकार, कलाकार बसोबास गर्ने बुढानीलकण्ठमा साहित्य तथा संस्कृति महोत्सवका नाममा मुस्किलले आधा दर्जन(त्यो पनि आफ्नै पार्टी विशेषका) मात्र व्यक्तित्वलाई समेटेर बनाइएको खाका अनिताले सार्वजनिक गरिसेककी छिन् । कार्यक्रमका सहजकर्तादेखि वक्तासम्म ९० प्रतिशत बुढानीलकण्ठ बाहिर वा बुढानीलकण्ठमा बसेर पनि बुढानीलकण्ठप्रति कहिल्यै चासो नदिएको व्यक्तिहरू राखिएको छ ।
कार्यक्रममा बुढानीलकण्ठ तथा आसपासमा बस्ने तर राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय छवि बनाएका प्रा.डा.अभि सुवेदी, प्रा. डा. अरूण गुप्तो, डा, रामप्रसाद ज्ञवाली, प्रा. हेमनाथ पौडेल, प्रयागराज बाशिष्ठ, वियोगी बुढाथोकी, इन्द्रकुमार श्रेष्ठजस्ता ३ दर्जन नामहरूलाई अनिता लामाले जानीजानी ‘बाइकट’ गरेकी छिन् । आफू राष्ट्रिय व्यक्तित्व देखाउन उपमेयरले गरेको नितान्त पार्टीकरणरूपी कमजोर प्रस्तुतिप्रति धेरैले आक्रोशसमेत व्यक्त गरे । महोत्सव स्थानीय विषय र मुद्धा नरहेकोप्रति पनि धेरैले आक्रोश व्यक्त गरेका छन् । ’राष्ट्रिय साहित्य सम्मेलन त यहि बेला पोखरा र जनकपुरमा भैरहकै छ त, त्यस्तै कार्बनकपी कार्यक्रम बुढानीलकण्ठमा किन चाहियो ? यो स्टन्ट किन ? यसरी बजेटको सत्यानास गर्न पाइन्छ ?’ कवि दुर्गा दाहालले भने ।
कपनमा बसेर साहित्यमा लामो सेवा गरेका छन्द साहित्यका धरोहर डा. रामप्रसाद ज्ञवालीले आफूलाई कसैले यो बारे जानकारीसमेत नदिएको बताए । ज्ञवालीले भने, ’आफू पार्टीको कार्यकर्ता परिएन, त्यही भएर सोधखोज भएन होला ।’
नेपाली साहित्यमा चिरपरिचित तथा गतिशील नाम तथा साहित्यकार वियोगी बुढाथोकीले महोत्सवका बारेमा सामाजिक सन्जालमा एउटा स्टाटस नै लेखेर भनेका छन्, ‘बुढानीलकण्ठले साहित्यिक र सांस्कृतिक महोत्सव गर्दै छ रे ! मेरो प्रश्न यतिखेर म कहां छु ! के कांग्रेसी भएकै कारण वाचकबाहेक कतै नअटाएकै हुं त ?’
स्थानीयरूपमा लामो समयदेखि पत्रकारिता गरिरहेका पुन्यराज पुडासैनी पनि साहित्य सम्मेलन बारे आफूसँग चासो एवम् सोधखोज नभएको बताउँछन् ।
नगरपालिकाको ठूलो बजेटमा राष्ट्रिय व्यक्ति बन्नका लागि अनिताले महत्वाकांक्षी कार्यक्रम राखेर स्थानीय स्रष्टाको मानमर्दन गरेको कवि दुर्गा दाहालले बताए । ‘यसरी राष्ट्रिय व्यक्तित्व बनिदैन यो नगरपालिकाको बजेटको मात्र स्वाहा हो’ । दाहालले थपे ।