काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै मन्त्रिपरिषद् हेरफेर हुने घोषणा पुनः गरेका छन्। सोनाम ल्होसारको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् हेरफेर गरेर सरकारलाई गति दिने घोषणा गरे। तर, गठबन्धनका अरू दल विशेषगरेर कांग्रेस भने तत्कालै मन्त्रिपरिषद् हेरफेरको पक्षमा छैनन्। कांग्रेस सभापति देउवा आफ्ना विश्वासपात्र अर्थमन्त्री महत तथा स्वास्थ्य मन्त्री मोहन बस्नेतलाइ हटाउन नचाहेको बताइएको छ । यही कारण देउवाले सिधै कांग्रेसका मन्त्रीलाइ नचलाउन दवाब दिएका बताइन्छ
कांग्रेस महासमिति बैठकपछि मात्रै मन्त्रिपरिषद् हेरफेरका पक्षमा छ भने एकीकृत समाजवादी लगायतका अरू दलमा त्यसबारे छलफल पनि नभएको नेताहरू बताउँछन्। ‘अब छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ,’ प्रधानमन्त्री दाहालले सोनाम ल्होसारको कार्यक्रममा भने, ‘पहिलो प्राथमिकता बागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ। अब संघको मन्त्रिपरिषद् पुनर्गठन त हुन्छै हुन्छ। पुनर्गठन हुनेबित्तिकै तामाङ समुदायबाट मन्त्री बन्छन्।’
तर, गठबन्धनको अर्को दल कांग्रेसको ध्यान भने मन्त्रिपरिषद् हेरफेरभन्दा महासमिति बैठकमा केन्द्रित छ। कांग्रेसले महासमितिको बैठकमा मन्त्री हेरफेरको विषय एजेण्डा नै बनाउने तयारी गरेको छ। कांग्रेसले महासमिति बैठक फागुन ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा हुँदै छ।
सबै परिस्थिति एकातिर भए पनि महासमिति बैठकअघि आफ्नो पार्टीबाट सरकारमा सहभागी भएकालाई फिर्ता बोलाउने पक्षमा अहिले कांग्रेस देखिँदैन। बालुवाटारमा हुने गठबन्धनको बैठकमा सभापति देउवा भन्ने गर्छन्, ‘कम्तीमा २ वर्षका लागि तपाईँहरूलाई पठाइएको हो भनिएको छ। एक वर्षमै कसरी बोलाउने कुरा गर्नुहुन्छ ? बोलाउँदा कसलाई बोलाउने ? नयाँ पठाउँदा कसलाई पठाउने ? यो विषयमा पार्टीमा सल्लाह गर्नुपर्छ।’