काठमाडौं । देशका अधिकांश भागमा पानी नपरेको तथा धेरैजसो दिन घाम लागेकाले हिउँदको तापक्रम सरदरभन्दा बढी रहेको छ। जल तथा मौसम विज्ञान विभागले प्रकाशित गरेको गत नोभेम्बर र डिसेम्बर (कात्तिक १५ देखि पुस १५ सम्म)को अवधिको जलवायु सम्बन्धी तथ्यांकले मनसुनपश्चात् र हिउँदको यो अवधिमा विगत सरह तापक्रम ओरालो नलागेको देखाएको छ। जसले गर्दा अचाक्ली जाडो महसूस हुन पाएन।
विभागका अनुसार यी दुवै महीनामा दिनको औसत तापक्रम सरदरभन्दा धेरै रह्यो। रातमा भने हिमाली क्षेत्रमा विगतको सरदरभन्दा तापक्रम चिसियो भने दक्षिणी भागमा विगतको औसतभन्दा तापक्रम बढी भयो। विभागका अनुसार नोभेम्बर (कात्तिक १५ देखि मंसीर १५ सम्म) र डिसेम्बर (मंसीर १५ देखि पुस १५ सम्म) दुवै महीनामा देशका अधिकांश भागमा अधिकतम तापक्रम औसतभन्दा धेरै रह्यो।
त्यस्तै, देशको पश्चिमी तराईको भन्दा पूर्वी तराईको भूभाग बढी तातो रहेको विभागले जनाएको छ। कोशी र मधेश प्रदेशका निश्चित क्षेत्रमा डिसेम्बर महीनामा औसत अधिकतम तापक्रम २७ डिग्री सेल्सियसभन्दा पनि बढी रहेको विभागको अभिलेखमा उल्लेख छ।
त्यसैगरी, न्यूनतम तापक्रम पनि देशको दक्षिणी क्षेत्रमा औसतभन्दा बढी र उत्तरी क्षेत्रमा औसतभन्दा कम रहेको विभागले जनाएको छ। यी दुई महीनामा देशका विभिन्न स्थानको अधिकतम तापक्रमको विगतको रेकर्ड तोडिएको छ। गुलरिया, जनकपुर विमानस्थल, खाँदबारी, पाँचखाल, इलामको कन्याम, बैतडीको पाटनमा विगतको अधिकतम तापक्रमभन्दा यस वर्ष अधिकतम तापक्रम (नोभेम्बर र डिसेम्बर महीनाको) बढी रेकर्ड गरिएको छ।
गुलरियामा गत मंसीर १७ मा २९ डिग्री सेल्सियस अधिकतम तापक्रम रेकर्ड गरिएको थियो। जुन यसअघि २०७६ मंसीर १९ गते सर्वाधिक २८.५ डिग्री रेकर्ड भएको थियो। यस्तै, जनकपुर विमानस्थलमा डिसेम्बर महीनाको अधिकतम तापक्रम यस वर्ष ३२.२ डिग्री सेल्सियस रेकर्ड भयो। जुन यसअघि २०६८ मंसीर १६ गते सर्वाधिक ३०.५ डिग्री सेल्सियस मात्रै रेकर्ड भएको थियो।
विभागका अनुसार डिसेम्बर महीनामा ११३ मौसम स्टेशनमध्ये ५७ वटामा अधिकतम तापक्रम विगतको सरदरभन्दा बढी रेकर्ड गरिएको थियो। नौ वटा स्टेशनमा भने विगतको औसतभन्दा अधिकतम तापक्रम कम रेकर्ड गरिएको छ।
त्यसैगरी, डिसेम्बरमा विगतको औसतभन्दा न्यूनतम तापक्रम ६० वटा स्टेशनमा धेरै रेकर्ड भएको छ। ६ वटा स्टेशनमा भने विगतको औसत न्यूनतम तापक्रमभन्दा यस वर्ष कम रेकर्ड भएको छ। अधिकतम र न्यूनतम तापक्रम बढी हुँदा न्यानो अनुभव हुन्छ।
पछिल्ला वर्षमा जलवायुको प्रवृत्तिमा फेरबदल आइरहेको विज्ञहरूले बताउने गरेका छन्। बितेका चार दशकमा सन् २०२३ सबैभन्दा ताता वर्षहरूमध्ये एक हुन पुगेको थियो। हिउँदका महीनामा पानी पर्ने क्रम पनि घटेको छ। हिउँद (मध्य मंसीरदेखि मध्य फागुनसम्म) ६०.१ मिलिमिटर पानी पर्नुपर्नेमा अहिलेसम्म २.७ मिलिमिटर अर्थात् ४.६ प्रतिशत मात्रै पानी परेको छ।