- निपेश ढाका
शिवपुरी-नार्गाजुन राष्ट्रिय निकुञ्जमा नागमती बाँध निर्माण गर्ने कुरा अहिले चर्चाको विषय बनेको छ । यसले काठमाण्डौको मानव बस्तीमा असर पुर्याउन सक्ने खतराका बारेमा वातावरणविद्हरुले चासो व्यक्त गरिरहेका छन् । जुन नागमती खोला छ त्यसको वरपर रहेर २०६९ सालमा अध्ययन पनि गरेको थिएँ । त्यसको अध्ययन गरेको हुनाले त्यहाँको वातावरण तथा भूगोलका बारेमा पनि राम्रो जानकारी छ । त्यसबेलाको अध्ययनमा त्यहाँको हाइड्रोलोजिकल मोडल तथा अन्य कुराहरु पनि अध्ययनमा समावेश थियो ।
हाम्रो जस्तो गरिब देशमा विकास निर्माण हुनु र त्यसले आर्थिक तथा अन्य कुराहरुको पनि फाइदा त हुन्छ । तर, त्यसमा धेरै कुराहरु ध्यान दिनु आवश्यक हुन्छ । नागमती बाँध बनाउनु अगाडि वातावरणीय तथा अन्य प्रभावको मूल्याङ्कन गरेर नै निर्माणको कुरा गरिएको हुनुपर्छ । तर, हाम्रो जस्तो देशमा वातावरणीय प्रभाव मूल्याङ्कन भन्दा त्यसको सामाजिक आर्थिक प्रभावमा बढी फरक पर्छ । यस्तो अध्ययनमा त्यहाँका मानिसको आर्थिक उन्नतिको आधार सांस्कृतिक पक्ष तथा त्यहाँको जैविक विविधतालाई ध्यानमा राखेर वातावरणीय प्रभाव मूल्याङ्कनको अध्ययन हुनुपर्छ । यस्ता संरचना बन्न यी सबै कुरा सकारात्मक छ वा न्यूनीकरण गर्छ भनेर मूल्याङ्कन अध्ययन गर्नुपर्छ । न्यूनीकरण गर्छ भने त्यसलाई कसरी अनुदान दिएर उत्थान गर्न सकिन्छ भन्ने बारेमा अध्ययन प्रतिवेदन तयार गर्नुपर्छ।
अहिले चर्चामा रहेको नागमती बाँधको सबैभन्दा राम्रो पक्ष भनेको त्यसले भू-सतहको पानीलाई पुनर्भरण गर्छ । यसले काठमाण्डौको घनाक्षेत्र तथा जलाधार क्षेत्र पुनर्भरण हुने कारणले त्यहाँको जैविक विविधतामा थप मद्दत गर्छ । तर, नागमती बाँध बनाउने ठाउँ चट्टान रहित ग्रेगर तथा अन्य किसिमको माटो भएको र पानी चाँडो घुलन हुने हुनाले भूक्षयको सम्भावना हुन्छ । त्यसकारण त्यहाँ बाँध बनाउँदा फुट्ने सम्भावना बढी हुन्छ । यदि बाँध बनाएर फुट्यो भने त्यसले विकराल रुप लिन्छ । यसले प्राकृतिक विपत्ति तथा त्यस्ता बाँधमा यदि आन्तरिक द्वन्द्व वा वाह्य आक्रमण भयो भने पनि त्यसको क्षति अुनमान गरेभन्दा धेरै नै हुन्छ।
यदि त्यहाँ बाँध बनाउने हो भने त्यहाँको जैविक विविधता नष्ट हुन्छ । यदि त्यहाँको वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको हो भने पानीमा हुने वनस्पति र जमिनको बीचमा हुने वनस्पति लोप हुन्छन् । कतिपय लोपोन्मुख जनावर, चरिचर र सरिसृप लोप हुने खतरा हुन्छ । हामी भूकम्प जस्ता प्राकृतिक विपत्तिको जोखिममा रहेको हुनाले यस्ता नयाँ कुराहरु थप्दा हामी सचेत हुनैपर्छ ।
कुनै ठाउँमा बाँध बनाउने कुराको औचित्य त्यसले त्यहाँ पार्ने जैविक विविधतामा पुर्उने असर, वाष्पीकरणले त्यहाँको तापक्रममा पार्ने असर तथा त्यहाँको जनजीवनमा पार्ने असर सकारात्मक छ भन्ने कुराको पुष्टि हुनसक्ने हुनुपर्छ । कुनै पनि ठूला आयोजनाको असर चरिचरन अर्थात् मानिसले पाल्ने गाईबस्तु, त्यहाँको माटो आदिमा पनि पर्छ । अहिले हामीले विकासका नाउँमा जथाभावी डोजर चलाउँदा पानीको वर्षौँदेखिको धारलाई उल्टो दिशातर्फ बगाउने गरेको छ । जसका कारण धेरै भूक्षय, सुक्खा पहिरो लगायतका समस्याहरु देखिएका छन् । हामीले यस्ता विकासका कुरा गर्नुभन्दा पनि जीवनस्तर कसरी उठाउने भनेर कृषिलाई आधुनिकीकरण गर्ने भन्नेतर्फ बढी ध्यान दिनुपर्छ । यसो गर्दा हाम्रा जैविक विविधता, रुख, जंगली जनावर तथा पर्वरण सबै जोगिन्छ । हामीले सबैभन्दा जीवनस्तर कसरी वातावरणमैत्री हुन्छ भनेर जाँदा उपयुक्त हुन्छ ।
अहिले बाग्मती नदी सरसफाइका लागि भनेर नागमती बाँधको जुन कुरा चलिरहेको छ त्यो भन्दा पनि नदी सरसफाइको लागि मुख्य कुरा भनेको जनचेतना हो । पहिले बाग्मती नदी क्षेत्रका मानिसहरुको जीवन कृषिमा आधारित थियो । बाग्मती पनि कलकल सफा बग्थ्यो । पछि बस्ती बढेर ढल मिसाउन थालेपछि नै बाग्मती प्रदूषित हुन थालेको हो । त्यसकारण नदी थुनेर सफा बनाउने भन्दा पनि जनचेतनामूलक कार्यक्रम र हरेक जीवजन्तु आदि सबैलाई कसरी सन्तुलन गर्ने भन्ने कुरामा हामी जानुपर्छ ।