काठमाडौं । देशमा नयाँ राजनीतिक गठबन्धनको सम्भावना बढेको राजनीतिक विश्लेषण सुरू भएको छ । यो कुनै नयाँ राजनीतिक गठबन्धनको सम्भावना नभै वामपन्थी दलहरूको गठबन्धनको चर्चा भएको हो । फागुनको पहिलो साता सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकले गठबन्धन संस्कृतिलाई तत्काल कायम राख्ने निणर्य गरे पनि भविष्यमा भने सशंय उत्पन्न गरेको छ । कांग्रेसको महासमिति बैठकमा निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा गरमागर्मी बहस भयो र त्यसबाट भविष्यमा चुनावी गठबन्धन नगर्ने पक्षमा बहुमत देखिँदा अहिले गठबन्धनमा रहेका वामपन्थी दलहरूमा संशय उत्पन्न गराएको छ ।
गत निर्वाचनदेखि नै गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति बमोजिम माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई वर्ष, त्यसपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष र कांग्रेस सभापति शेरबहादुर देउवाले दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति बनेको हो ।
कांग्रेससँगको गठबन्धनलाई वाम-लोकतान्त्रिकको नाम दिए पनि आखिरमा यो लामो समय जाँदैन भन्ने महसुस माओवादीका नेताहरूले कांग्रेस महासमिति बैठकपछि गरेका छन् । ‘सारमा यो गठबन्धन सरकार सञ्चालनको प्राविधिक पक्षमात्रै थियो, सैद्धान्तिक थिएन भन्ने महसुस भइरहेको छ’, नेकपा माओवादी केन्द्रका एक पदाधिकारीले दृष्टिसँग भने ‘वामपन्थी दलहरूबीच सहकार्य आवश्यक छ, यो ढिलोचाडो सम्भव छ ।’
यो बीचमा प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेर्ने संकेत गरेका छन् । सरकारका मन्त्रीहरूको कामदेखि दिक्क बनेका प्रचण्डले काँग्रेससँगको सहकार्य तोड्ने संकेत गरेका हुन् । सरकारको नेतृत्व गरेको एक वर्षको समीक्षा सुनाउँदै प्रधानमन्त्री प्रचण्डले काम नगर्ने मन्त्रीलाई हटाउने बताएका थिए । तर, टेरामक्स प्रकरणमा मुछिएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र श्रममन्त्री शरदसिंह भण्डारीले उत्पन्न गरेको समस्या समाधान नगरेको विषयबाट दिक्क भएका प्रचण्डले यसै साता बसेको पार्टी संसदीय दलको बैठकमा कांग्रेसले साह्रै पेलेको गुनासो गरेका थिए ।
काँग्रेसको घेराबन्दीबाट उम्कन प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चामार्फत नेकपा एमालेसहितका कम्युनिस्ट पार्टीलाई समेटेर मोर्चा विस्तार गर्ने निणर्य गराएका छन् । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को अध्यक्षतामा यसैसाता बालुवाटारमा बसेको बैठकले एमाले मात्र नभएर माओवादी फुटाएर साना दल खोलेका सबैलाई एउटै मोर्चामा ल्याउने निणर्य गराएका हुन् । ‘समाजवादी मोर्चाको नाममा भएको यो निणर्य वामपन्थी दलहरू एक ठाउँमा उभिने एक प्रकारको कोशेढुंगा हुनेछ’, माओवादीका ती पदाधिकारीको दाबी छ । उनका अनुसार अबको चार वर्ष नै यो देशमा कम्युनिष्ट पार्टीका नेताहरूले सत्ता सम्हाल्न सक्ने सम्भावना पनि रहेको छ ।
उनका अनुसार अहिलेको प्रस्ताव एमालेले मानेमा अब एक वर्ष प्रचण्ड नै प्रधानमन्त्री हुनेछन् । त्यसपछि एक वर्ष नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री हुनेछन् भने पछिल्लो दुई वर्ष माओवादी र एकीकृत समाजवादीको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुनेछन् । ‘यो तहबाट उच्चस्तरको सहमति आवश्यक छ, अहिलेको संवाद पनि यही तहमा छ’, माओवादीका ती पदाधिकारीले भने ।
राष्ट्रिय सभाको निर्वाचनबाट एमालेका नेताहरू माओवादीसँग त्यतिधेरै नकारात्मक नबनेको र माओवादीले पछिल्लो समय एमालेका नेताहरूलाई गाली नगर्नुको एउटा कारण यो पनि रहेको शीर्ष एक नेताले बताए । शीर्ष नेताहरूको तहमा विश्वासको वातावरण बनेसँगै फेरि वामगठबन्धन बन्ने छ । एमालेले धेरै पटक अहिलेको गठबन्धनबारे स्पष्ट हुन माओवादीलाई आग्रह गरेको छ । ‘तर, त्यसका लागि पहिलो कुरा पूर्वएमाले र एमालेको बीचमा विश्वासको वातावरण बनाउनुपर्छ’, ती पदाधिकारीको दाबी छ ।
स्रोतका अनुसार वामगठबन्धन तयार गर्ने हो भने एमालेले माधव नेपाललाई स्वीकार्नुपर्छ । एमालेले पनि पछिल्ला दिनमा एक्लै बहुमत ल्याउन नसकिने आँकलन गर्दै आएको छ । मिसन ०८४ चलाएर मध्यपहाडी यात्रा गरेको एमालेले पछिल्लो पटक आफूलाई ‘रिभाइज’ गर्ने तहमा पुगेको छ ।
एमालेका शीर्ष नेताहरूले पार्टीका नेताहरूको आचारण सुधारको विषयमा केन्द्रीय सदस्यहरूसँगै सुझाव माग्नुको एउटा कारण मध्यपहाडी यात्राको क्रममा एमाले नेताहरूको जीवनशैलीलाई लिएर प्रश्न गर्नु पनि रहेको थियो ।
माघको अन्तिम सातापछि दुई पटक भएको एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको गोप्य भेटघाटले पनि वामपन्थी गठबन्धनलाई सहयोग पुर्याइरहेको स्रोतको दाबी छ । त्यसकै सुईको पाएर सरकारमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि वर्तमान गठबन्धन र सरकारको आयु काँग्रेसको हातमा रहेको अभिव्यक्ति दिएका थिए ।
संसदमा कांग्रेसका नेताहरूले माओवादी मन्त्रीको कार्यशैलीलाई लिएर प्रश्न उठाइरहेका बेला उनको यो अभिव्यक्ति पनि महत्वपूणर् मानिएको छ । खासगरी कांग्रेस महासमिति बैठकपछि औपचारिक र अनौपचारिक दुवै भेटघाट भएका छन् । ‘ओली-प्रचण्डको भेटघाट अत्यन्तै गोप्य छ । तर, अपौचारिक भेटघाटलाई टिआरसीसँग जोडिएको छ’, माओवादी उच्च स्रोतले भन्यो, ‘कांग्रेस नेताहरूले वामपन्थीविरुद्ध आफ्नो अभिमत जारी गरिरहँदा छरिएर रहेका सबै वामपन्थीबीच सहकार्य आवश्यक देखियो ।’
स्रोतका अनुसार त्यसका लागि फेरि एमाले अध्यक्ष ओलीकै पहलकद्मी आवश्यक छ । वामपन्थी दलहरू बीचकै सहकार्यका लागि भेटघाट र छलफल बाक्लिएको बताइएको छ ।