काठमाडौं । मिठाराम अधिकारी नगरप्रमुख भएसँगै बुढानिलकण्ठमा ढलाने विकासले तीव्रता लिएको छ । विश्वव्यापीरूपमै सडकमा ढलान गर्न नहुने अवधारणमा व्यापक जनचेता जगाइँदै गरिएको अबस्थामा मिठाराम अधिकारीको नगरपालिकाले प्रमुख प्राथमिकता नै ढलाने विकास र भवन निर्माणलाई दिइरहेको छ । विकास भनेकै ’ढलान’ भन्ने अवधारणाका मिठाराम अधिकारीको सोचलाई साकार बनाउन नगरपालिकाले चालु आर्थिक वर्षमा ५० वटा साना र मझौला सडक ढलानका लागि पूजिगत बजेट व्यवस्था गरेको छ ।
ढलान भन्नाले बुढानीलकण्ठमा विकास मात्र हैन त्यो दृष्य – अदृष्य र मनग्य आम्दानीको श्रोत भनेर व्याख्या हुने गर्छ । फलानाको घरबाट फलानाको घरसम्म जाने ८ देखि १२ फुटे सडकहरू ढलान गर्न नगरपालिकाले प्रमुख कामका रूपमा लिँदै आएको छ । खासमा बुढानीलकण्ठको नगर गौरवको आयोजना भनेकै यही ढलाने सडक नै हो भन्दा अत्युक्ति हुँदैन । वडाका जनप्रतिनिधि पनि ढलानमा मग्न भएका छन् । उनीहरू ढलान गरिएका सडकहरूमा फोटो खिचेर प्रशन्नता व्यक्त गरिरहेको भेटिन्छन् ।
चालु आर्थिक वर्षमा बुढानिलकण्ठले पूँजिगत खर्चतर्फ सड़क विस्तार तथा मर्मतका शीर्षकभित्र ५० वटाभन्दा धेरै सड़क ढलान गर्ने शीर्षक नामसहित उल्लेख गरेको छ । त्यसबाहेक नगरपालिकाको गौरबको आयोजनामा भवन निर्माण शीर्षकका तीन योजना राखेको छ । ठूला लागनीमा बन्ने नगरका ११ गौरव आयोजनामा सांस्कृतिक प्रतिष्ठानको भवन, युवा विकास केन्द्रको भवन तथा मल्टिपर्पोज भवन बनाइदै छ । मेयर मिठाराम अधिकारी तिनै व्यक्ति हुन् जसले कपन गाविस अध्यक्ष हुँदा आफूले कपनलाई जापान बनाएको जिकिर गरेका थिए ।