काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाका वडाध्यक्षहरू विद्यालय व्यवस्थापन समितिमा बस्ने लडाइँमा लागेको देखिन्छ । यसरी वडाध्यक्ष आफै विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बस्न खोज्दा वडा नं ११ को ग्राम शिक्षा स्कूल व्यवस्थापन समिति बन्न सकेको छैन । कुनै पनि हालतमा आफै व्यवस्थापन समितिको अध्यक्षमा बस्नु पर्ने भन्ने वडाध्यक्ष राजु अधिकारीको हठका कारण लामो समयदेखि व्यवस्थापन समिति अध्यक्ष को बन्ने बारेमा हानाथाप भैरहेको छ ।
बुढानीलकण्ठका १९ वटा सामुदायिक विद्यालयमा राजनीतिक दाउपेचकै आधार लामो समयदेखि व्यवस्थापन समितिमा स्थानीय नेताहरू बस्दै आएका छन् । स्थानीय नेता तथा नेता खटाएका कार्यकर्ता विद्यालय व्यवस्थापन समितिमा बस्दा बुढानीलकण्ठका सरकारी सामुदायिक विद्यालयहरूको शैक्षिक अबस्थामा तहसनहस छ । शिक्षा क्षेत्रमा केहि गर्ने आँट, क्षमता दक्षता, योग्यता भएका व्यक्तिलाइ व्यवस्थापन समितिमा लैजान पहल गर्न पर्नेमा वडाध्यक्ष आफै व्यवस्थापन समितिमा जान मरिहत्ते गरिरहेका दृष्य बुढानीलकण्ठमा देख्न पाइन्छ ।
वडाध्यक्ष पनि स्थानीय नेता नै भएको भन्ने आधारमा वडाध्यक्षहरूले जसरी पनि व्यवस्थापन समितिको अध्यक्षमा बस्न पाउनु पर्ने अड्डि लिएका भनिन्छ । हालै बुढानीलकण्ठ २ मा रहेको गणेश मावि व्यवस्थापन समितिमा पनि वडाध्यक्ष राजेन्द्र श्रेष्ठ अध्यक्ष बनेका छन् ।
नियमतः जनप्रतिनिधि कुनै पनि यस्ता उपभोक्ता समिति जस्ता समितिमा बस्न पाइँदैन । सहकारी वा उपभोक्ता समितिमा जनप्रतिनिधि बस्न नपाउने भए पनि बुढानीलकण्ठका मेयर मिठाराम अधिकारी आफ्नै निवासमा रहेको रहेको सहकारीको अध्यक्ष रहेका छन् । त्यसैगरी वडा नं ११ का वडाध्यक्ष राजु अधिकारी जो स्कूल व्यवस्थापन समितिमा बस्न मरिहत्ते गरिरहेका छन् उनी राममन्दिर खानेपानी उपभोक्ता समितिको अध्यक्ष पनि रहेका छन् ।
विद्यालय व्यवस्थापन समितिमा बस्न एकखाले शैक्षिक योग्यताको पनि ऐन नियमावलीमा व्यवस्था गरिएको छ । केही समयअघि बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिको शैक्षिक योग्यताका बारेमा एक संस्थाको रिपोर्ट सार्वजनिक भएको थियो जसमा मेयरसहित ७ जना वडाध्यक्षको एसएलसीभन्दा कम शैक्षिक योग्यता रहेको कुरा उल्लेख छ ।