काठमाडौं । बुढानीलकण्ठमा खाली जमिनहरू भरिँदो छ । तर व्यवस्थितरूप भने कतै देखिदैन । मानौं, हामी सहर हैन असरल्ल कंक्रिटको जंगल बनाइरहेका छौँ । सार्वजनिक जमिन संरक्षणको समस्यादेखि फोहरमैला र खानेपानीका समस्या यहाँका जनताले समाना गरिरहेका छन् । यद्यपि यो बुढानीलकण्ठको मात्र नभै समग्र काठमाडौँकै कथा हो ।
यही भीडमा केही जनप्रतिनिधि आफ्नो सपनासहितका काममा समर्पित छन् । ती त्यस्ता सपनामा काम गरिरहेका जनप्रतिनिधिमध्य एक हुन् श्रीराम केसी । बुढानीलकण्ठ नगरपालिका वडा नं ४ का वडाध्यक्ष केसीको नामसँग जोडिन्छ धनेश्वर खेल मैदान वा रंगशाला । एग्रेसिभ स्वभावका देखिने केसी पछिल्ला झन्नै एकदशकदेखि बुढानीलकण्ठ पासिकोटको धनेश्वरमा एउटा फुटबल मैदानको सपनामा समर्पित छन् । उनको सपनासँग स्थानीय सबैको सपना जोडिएको छ । अझ भनै यो श्रीराम केसीको सपना हैन स्थानीयको सपना हो जो श्रीराम केसीले बोकेर हिँडेका छन् यतिखेर ।
पासिकोटको पश्चिमी भागको एक कुनामा रहेको सार्वजनिक जमिनलाइ सम्याएर खेल मैदान बनाउन स्थानीय युवाहरूले देखेको एक दशकभन्दा पुरानो एक सपना साकार हुँदाहुँदै रोकिएको निकै भैसक्यो । केहि सकरकारी बजेटसमेत खर्च गरेर वाल लागेर मैदानको स्वरूप बनिसकेपछि मैदानमा व्यक्तिको जग्गा परेको प्रमाणित भएपछि फुटबल रंगशालाको सुन्दर डिपिआर असरल्ल भएको छ ।
०६८ सालतिर एकजनाले प्लटिङ गर्दा भएको मिस्टेकले यतिखेर वडाध्यक्ष केसीसहित पासिकोटका स्थानीयले देखेको सपनाको गणित कतै सँधैभरीका लागि असरल्ल नै रहने त हैन भन्ने चिन्ताको विषय बन्न पुगेको छ । खेल मैदानका रूपमा सम्याइएको ठाउँमा स्थानीय ८ जनाको ३ रोपनी जग्गा परेसँगै पछिल्ला ६ वर्षदेखि योरंगशालाको सपना स्थगितझैँ छ ।
स्थानीयवासी तथा वडाध्यक्षले देखेको फुटबल रंगशालको सपनामा जग्गा पर्नेहरूले पनि आत्मसात नगरेका भने हैनन् । आधा दशकदेखि उनीहरू श्रीराम केसीले भनेको मान्दै पनि आएका छन् । दुःख जिलो गरेर किनेका सम्पत्ति यसरी आधा दशकदेखि सरकारी जमिनमा परिणत हुँदा पनि उनीहरूले देखाएको धैर्यता र विश्वासप्रति वडाध्यक्ष श्रीराम केसीलगायत सबैजना नतमस्तक छन् ।
खेल मैदानमा जग्गा परेका उद्धव बर्तौला भन्छन्, “लामो समयदेखि कुर्दै आएका छौँ तर विषय टुंगो लाग्दैन कि भन्ने डर भएको छ । वडाध्यक्षज्यूले रंगशाला बनाएरै छाड्ने भनेकाले हामीले आफ्नो ठाउँमा केही राम्रो हुन्छ भने हामी चुप लागेर बसौँ भनेको हो तर रंगशाला बनाउन जग्गा सित्तै छाड्न नसक्ने अनि नगरपालिकाले किन्ने आँट नगर्ने हो भने समस्या जहाँ त्यही रहन्छ । अहिले भैहरेको त्यहि हो ।”
पछिल्लो समय नगरपालिकाले मैदानभित्र जग्गा परेकाहरुको जग्गा किनिदिने भन्ने खाले कुरा अगाडि बढेपछि वडाध्यक्ष केसीसहित सबैजनामा एकखाले उत्साह देखिएको छ । नगरपालिकाले जग्गा किन्ने विषयमा कुरा अगाडि बढेको नगरप्रमुख मिठाराम अधिकारीले बताए । सँधैभरी कपनको सानो क्षेत्रफलको ह्याण्डबल मैदानलाइमात्र खेलको पर्याय मान्दै आएर बजेटको व्यवस्था गर्दै आएका मेयर अधिकारीले जग्गा किन्ने विषयमा स्वीकृतिको टाउको त हल्लाए काम कति गर्छन् हेर्न भने बाँकी छ ।
मैदानमा परेको व्यक्तिको जग्गा किनेर भए पनि रंगशाला बनाउने कुरामा काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेलले आफ्नो भरभग्दुर प्रयास गरेको वडाध्यक्ष केसीले बताए । पौडेलले जसरी पनि खेल क्षेत्रका लागि भनेर ३ करोड जति केन्द्रको बजेट नगरपालिकालाइ पारिदिने बचन दिएको उनले बताए । केसीले मेयर अधिकारी पनि मैदान बनाउनु पर्छ भन्ने विषयमा सिरियस रहेको बताए ।
सांसद प्रदीप पौडेलले केन्द्रको बेजट पारिदिने प्रतिबद्धता देखाएपछि नगरपालिका स्थानीयसँग जग्गा किनेर लिने मुडमा पुगेको देखिन्छ । वडाध्यक्ष केसीको फुटबल रंगशाला बनाउने ध्येयमाथि नगरपालिकाले पनि विश्वास गरेको देख्न सकिन्छ । धनेश्वर खेल मैदानलाइ नगरपालिकाले नगरको गौरब आयोजनामा राखेको छ । यतिमात्रै हैन खेल मैदान बनाउन पर्छ भनेर क्षेत्र नं ५ पटिका बुढानीलकण्ठका वडा नं ५, ६ र ७ का वडाध्यक्षले जजसो गर्न परे पनि गर्ने तत्परता देखाएको वडाध्यक्ष श्रीराम केसीले बताए । केसीका अनुसार वडा नं १० का वडाध्यक्ष नवराज भट्टराइले आफ्नो वडाको बजेट कटौति गर्न परे पनि तयार रहेको बताउँदै रंगशाला बनाउन पर्नेमा जोड दिइरहेको बताएका छन् ।
हालको चलनचल्तिको मुल्य अनुसार धनेश्वर खेल मैदानमा व्यक्तिगत परेको जमिनको करिब ७ करोड जति मूल्य पर्न सक्छ । ७ करोडको व्यवस्था गर्न सके यो रंगशालाको सपना सहज बन्न सक्नेछ । तथापि नगरपालिकाकै तत्परता एवम् अठोटको अभावमा रंगशालाको गणित लगभग १ दशकदेखि स्थगितझैँ छ ।
कुल विकास बजेटको ३५ प्रतिशतभन्दा धेरै खर्च गर्न नसकिरहेको बुढानीलकण्ठले ऐन तथा नियमावली बनाएर जग्गा खरिद गरेको भए केही वर्ष अघि २ करोड ५० लाख लगानीमै यो विषय टुङ्गिन्थ्यो तर जनप्रतिनिधिको आँट एवम् तत्परताको अभावले विषयलाइ ७ करोडमा पुर्याएको छ । अझै यो विषय केहि वर्ष अल्झियो भने झनै खर्चिलो बन्दै जाने देखिन्छ ।
एकदलको बहुमत रहेको बुढानीलकण्ठ नगरपालिकाले चाहेको भए आजभन्दा ५ वर्ष अघि नै यो विषय टुङ्ग्याउन सक्थ्यो तर दलीय आग्रह एवम् विकासको परिभाषा नभएका जनप्रतिनिधिले विषयको महत्वबोध गर्न नसकेको अनुमान सहजै गर्न सकिन्छ ।
यतिखेर धनेश्वर खेल मैदानसँग श्रीराम केसी तथा स्थानीयवासीको फुटबल रंगशालाको सपनासँग अब युवा सांसद प्रदीप पौडेलको राजनीतिक साख पनि जोडिएको देखिन्छ । त्यसैगरि बुढानीलकण्ठ नगरपालिकाका केहि गरुँ केही होस् भन्ने जनप्रतिनिधिको राजनीतिक भविष्य पनि जोडिएको छ ।
“यो पटकको प्रयास पनि सफल भएन भने, जनताकोजमिन फिर्ता गर्नुको विकल्प छैन” वडाध्यक्ष श्रीराम केसीले भने “नत्र भने स्थानीय सरकारले जनताको जिउधनको सुरक्षा नगरेको भाष्य सृजना नहोस् ।”