काठमाडौं । समय विक्रम संवत् १९९७ साल माघ छ गतेको समय थियो । उनलाई राज्यद्रोहको मुद्दामा फाँसी दिने तय भइसकेको थियो । फाँसीअघि उनलाई शंकर शमसेर र बहादुर शमसेरले सिंहदरबारमा बयानका लागि बोलाए । सो दिन बिहानै १० बजेदेखि ११ बजेको बीचमा नेपाल प्रजा परिषद्का सबै सदस्यहरूलाई नेल, सिक्री र हतकडीका साथ पाश्र्ववती सैनिकको घेरामा राखी सिंहदरबार फुटबल चौरमा लगियो । उनीहरुलाई पश्चिमपट्टि फर्काएर उभ्याइएको थियो । अघिल्तिर पालमा राणाहरु र चौरमा भारदार बसिरहेका थिए । अन्य सदस्यहरू ल्याएको केही क्षणमा एकछिनपछि सदर जेलबाट शुक्रराज शास्त्रीलाई पनि हतकडी, नेल सिक्रीमा सिंहदरबारमा नै ल्याइयो ।
बहादुर शमशेरले ‘त्यस्तो कार्यहरू गरेर तँ नेवारले हाम्रो मुलुकमा के खोजेको <” प्रश्न गरे ।
शुक्रराज शास्त्रीले “मौलिक अधिकार” भनेर जवाफ दिए ।
बहादुर शमसेरले “अधिकार भनेको के हो ?” भनी पुनः प्रश्न गरे ।
शुक्रराजले पनि गड्काइमा “अधिकार भनेको फण्डामेण्टल राइट” भनी जवाफ दिए ।
बहादुर शमसेरले फेरि रिसाएर ठूलो स्वरमा कराउँदै “राइट भनेको के हो ?” भनी सोधे ।
शुक्रराज शास्त्रीले पनि त्यस्तै स्वरमा “राइट” भनेको “ हक, मैले मेरो हक खाजेको”भनी जवाफ दिए ।
बहादुर शमसेर रिसाएर “हाम्रो राज्यमा तँ नेवारको हक ? ” भनी उफ्रिन थाले ।
जुद्ध शमशेर त्यसको केही समयपछि आए र श्री ५ त्रिभुवनलाई सलाम गरेजस्तो गरे । त्यही समयमा इन्द्रबहादुर कार्कीले एउटा कागजको मुठ्ठा जुद्ध शमशेरलाई दिए । त्यसपछि उनीहरूलाई त्यहाँ उपस्थित गराउनुको कारण बताइयो । जुद्ध शमशेरले भने “तपाईहरुलाई किन बोलाएको थाहा छ ? हिन्दुस्थानको नीच जातका सोसलिष्टहरूको इसारामा हाम्रो गाथ गद्दी ताकिरहेका देशद्रोहीहरुलाई के कस्तो दण्ड दिनुपर्ने भनी राय लिन बोलाएको हुँ भनी राजा त्रिभुवनसँग सोधे ।
त्यसरी जुद्धशमशेर बोलिरहेको बेला नै शुक्रराजशास्त्रीले भने “ यो के तमासा हो, महाराज ,एक्लै बोलिरहनु उचित भएन, यति धेरै भाइभारदारहरुको बीचमा एक्लै बोलिरहन सुहाएन ।” भनि बीचमा कुरा काटे । त्यो सन्नासाथ रिसाएर “तँलाई नै मार्नुपर्छ ।” भनेपछि शुक्रराजले पनि “म मर्न तयार छु । तर इन्साफ चाहिन्छ, को देशद्रोही हो” भन्ने कुरा हामीहरुलाई बताउने मौका दिनुपर्छ । अनि यो सभामा उपस्थित भाइभारदारहरुले फैसला गरून् कि देशद्रोही को हो ? संगीनको घेरामा हामीलाई राखेर एक्लै फत्फताउनुभन्दा पहिले हामीलाई पनि बोल्ने मौका दिनुपर्छ ।”
शुक्रराजशास्त्रीको यस भनाइले जुद्ध शमशेर रिसले चुर भई यता र उतागर्न थाले । सिपाहीहरुले पछाडीबाट चुप लाग, चुप लाग भनिरहेका थिए । “के रे ज्यापु, के रे, धेरै नेपरिएर बोल्छस् ज्यापु तँ ? यै ज्यापु हो, हिन्दुस्थानको गान्धी भन्नेको सल्लाह लिएर त्यसको बीउ यहाँ छर्ने । तँ धेरै नेपरिन्छस् भने म ऐले मेरो मान्छेहरुद्वारा तँलाई कुल्चाएर मारिदिन्छु ।” जुद्ध शमशेर गर्जिए । स्पष्ट छ, त्यसमा भाइभारदारको अगाडी श्री ३ महाराजसँग मुखमुखै लागेर बोल्नु उनको अपमान गर्नु थियो । तसर्थ उनी रिसले तम्तमाएका थिए । रीसको त्यही आवेगमा उनी गर्जिएका हुन् ।
शुक्रराजले पनि उत्तिकै जोश र फुर्तिले भने –“ तयार छु , महाराज ! म महाराजसँग न्याय मागी राखेको छु दया होइन । यतिका भाइभारदारहरुलाई जम्मा गरेर अरुलाई बोल्न नदिई, एकतर्फी जे मन लाग्यो उही भन्ने र जसलाई पायो देशद्रोही भन्न पाइन्छ ? यहाँ हामीले पनि जवाफ दिन पाउनुपर्छ, हामी त्यो न्याय चाहन्छौ महाराज ।”
“अझ बोल्छस् ए ज्यापु ! तलाई एैले नै कुल्चाई कुल्चाई मार्छु , के साचेको छस् ?” जुद्धशमशेरको रीशको आवेश अझ बढिरहेको थियो । उनी मुर्मुरिएर आँखै नदेख्ने भएका थिए । उनको कोप यति प्रचण्ड थियो कि उनले कसलाई के गर्ने हुन् भन्नै सकिंदैनथ्यो । त्यसपछि जुद्धशमशेरले शुक्रराज शास्त्री र मुरली पण्डितद्वार गरिएका अपराध बारे प्रष्ट पार्दै एउटा भाषण गरे । जुन भाषणमा उनले शुक्रराज र मुरली पण्डितलाई ८ वटा अपराध गरेको आरोप लगाएका थिए ।
नेपाल आर्यसमाज जिल्ला सभा,बाँकेबाट साभार