- जीआर रञ्जीत
आजभन्दा ३० वर्ष पहिले भक्तपुर नगरमा एक अनौठो संस्कृति थियो । जुन हाल लोप भइसकेको छ । त्यो संस्कृतिको नाम “मार हवानेगु” हो । पुस शुक्ल पुर्णिमाबाट शुरु भएर माघ शुक्ल पूर्णिमासम्म भक्तपुरको खोर्हे (हनुमानघाट) मा लाग्ने एक महिने स्वस्थानी माताको व्रत भरी “मार हवानेगु” भनेर बिहान सबेरै तलको गीत गाएर सबैलाई उठाउने गर्छ ।
“दां दां मस्त दां दां ।
मिखा न्यग कां कां ।।
तुति न्यपा चु चु ।
मार हवाने नु नु ।।”
जसको अर्थ यस प्रकार रहेको छ ।
उठ बच्चाहरु उठ ।
दुईवटा आँखा खोल ।।
दुईवटा खुटाले टेक ।
माधव भन्न जाऔ जाऔ ।।
यस्तो भन्दै सबैलाई उठाएर एक हुल भई स्नान गर्ने, देवताको दर्शन गर्ने र परालको आगो तापेर आउने गर्थे । बोलीचालीमा “मार ह्वानेगु” भनिए पनि वास्तवमा “माधव ह्वानेगु” हुनुपर्छ । त्यस समय माधव नारायणको विशेष पूजा हुने भएकाले सबैले एकले अर्कालाई “माधव नारायण” भन्नेर नमस्कार वा दर्शन गर्ने प्रचलन हालसम्म पनि रहिआएको छ । यसरी माधव नारायण भन्नलाई गएका एक टोलीले हनुमानघाटमा रहेको सम्पूर्ण देवताहरूको दर्शनपश्चात् पुन: अर्कै गीत गाउँदै घर फर्किने गर्छ ।
“वीरभद्रेश्वर ।
नाम पुकार ।।
संकत धारणी ।
श्री भोलानाथ ।।”
यो गीत गाएर हनुमानघाटबाट तचपाल अवस्थित वाकुपती नारायण, दत्तात्रय, गोल्मढी अवस्थित बिरभद्रेश्वर, टौमढी अवस्थित तिल माधव नारायणको दर्शन गरि घर फर्किने गर्छ ।