काठमाडौँ । भक्तपुरको याछें टोल बास्तबमा ‘येँ छें’ बाट अप्रभंस भै याछें हुन पुगेको थियो । यहाँ रहेको गणेशको कारण यस टोलको नाम याछें हुन पुगेको थियो । यहाँ स्थापित गणेशको नाम अशोक बिनायक हो । येँ (काठमाण्डौ) स्थित मरु गणेद्यःको नाम पनि अशोक बिनायक नै हुन । मरु गणेशको नाम कसरी मरु गणेश रह्यो र यहाँको गणेशको नाम कसरी याछें गणेश रह्यो भन्ने बिषयमा एक किंवदन्ती रहेको छ ।
कसैकसैले मरु गणेशको मन्दिरमा गजुर नभएकोले यस गणेशको नाम मरु गणेश रहन गएको भन्ने गरिन्छ । तर बास्तबमा गजुर नभएर मात्र नभै गणेश नै नभएकोले मरु गणेश भनेको भन्ने पनि गरिन्छ । गणेश भगवान कसरी हरायो वा भएनभन्दा काठमाण्डौबाट भक्तपुरमा बिबाह गरि जान लागेकी मुल जातिका बुहारी बिबाहपश्चात् घर जान मानिनन् । विवाहपछि किन जान मानिनन् भन्ने प्रश्न उठ्यो ।
विवाहमा दुलहीलाई चाहिने सबै सम्पुर्ण सर-सामान दिए पनि घर जान नमानेपछि अन्त्यमा दुलहीलाई किन के भएर जान नचाहेको भनेर सोधियो । सोधिएको उत्तरमा दुलहीले दैनिक रुपमा पुजा गर्ने आफ्नो कुल देवता अशोक बिनायक नदिएसम्म नजान्ने जिद्दी गरिन् । ठूलो प्रयासपछि पनि तिनलाई सम्झाउन नसकेपछि अन्तमा ‘लैजाउ’ भनेर अशोक बिनायक दिएपछि मात्र उनी जा राजनी भइन् ।
यसरी आफुले बिबाहमा आफुसंगै ल्याएका अशोक बिनायक भक्तपुरमा स्थापित गरि बसोबास गर्न थालेको हुनाले यस टोलको नाम याछें रहन गएको भन्ने भनिन्छ । यसरी मरु टोलको गणेशलाई भक्तपुर दिएर पठाएको कारण गणेश नै नभएको कारण त्यहाँको गणेशलाई मरु गणेश भनिएको हो ।
भक्तपुरमा मनाउने बिस्का जात्राको छैठौं दिन मनाउने एक जात्रा हो “महाकाली महालक्ष्मी खट जुधाउने जात्रा” । महाकाली र महालक्ष्मीलाई दिदी बहिनीको रुपमा लिने गरिन्छ भने याछें गणेश (अशोक बिनायक) लाई तिनीहरुको भाइ भन्ने गरिन्छ । भाइले दिदीहरुलाई जात्रामा बोलाउने भनेर याछें गणेशको जात्रा याछेंबाट दुगुमला, गोल्मढी, दामलाचा गल्ली, भोलाछें, थालाछें हुन्दै पुनः याछें मै पुर्याउने गर्दछ ।
यसरी दिदीहरुलाई बोलाएर आफू चाहिँ याछें गणेश द्यःछेंको छिंडीमा लुकेर बस्दछन् । दिदी बहिनी माइतीमा आउँदा माइतीको ढाेका बन्द भएको देखेर भएको मनमुटावको प्रतीक महाकाली र महालक्ष्मीको खट जुधाउने गरिन्छ । यसरी खट जुधाउँदा महाकाली र महालक्ष्मीको खटलाई तीन पटक जुधाउने गरिन्छ ।