काठमाडौं । नेपालको प्राचीन तान्त्रिक चित्रकलाको आफ्नो छुट्टै वैशिष्ट्य रहेको छ । पानीरङबाट लेखिएका चित्रहरू निर्माण गर्ने नेपाली तान्त्रिक जगत्को पुरानो परम्परा हो । आधुनिक चित्रकलामा तैलरङको व्यापक प्रयोग भएको पाइन्छ । प्राचीन चित्रहरू तैलरङमा लेखिएका मिल्न साह्रै दुर्लभ मात्र छैनन् प्रायः छँदै छैनन् भने पनि हुन्छ ।
अत्यन्त थोरै रङको सम्मिश्रण गरेर तान्त्रिक चित्रहरू बनाइनु नेपाली मौलिकता हो । उदाहरणस्वरूप देवदेवीहरूका मुखाकृति, वस्त्र, छाया इत्यादिका निमित्त कालो रेखाड्ढनबाट मात्र काम लिइएको पाइन्छ । कुनै कुनैमा चाहिँ कालोको सट्टा खैरो रङबाट पनि यसको काम लिइएको देखिन्छ । खैरो रङले रेखाड्ढन गर्ने शैली धेरैपछि एशियाली चित्रकला जगत्मा आएको हो । कालो रङको रेखाड्ढनमा ज्यादै नै स्पष्टता उत्रने भएकोले त्यो उत्तिको आँखामा खुल्न सक्दैन जति खैरो रङको रेखाड्ढन मनुष्यको नजरमा खुल्दछ । भन्नुको तात्पर्य प्राचीन चित्रहरू सुन्दर छैनन् होइन, अपितु प्राचीन चित्रहरू पुरातात्त्विक मूल्यबाट चाहिँ बडो महत्त्वपूणर् दृष्टिले निहारिन्छन् ।
प्राचीन राजदरबारका भित्ताहरूमा मोहनी सिन्ह (कालो टीका) र भुइ सिन्ह (सिन्दुर) ले बनाएका तान्त्रिक चित्रहरू हामीले देख्न सक्छौँ । प्राचीन चित्रकलामा मुखाकृतिलाई अङ्कन गर्न फगत सुन्तला र सेतो रङ मात्र मिलाई चित्र निर्माण गरिएको पाइन्छ । सुनका गहना वा सुनौला वस्त्रहरूलाई अङ्कित गर्नुपर्दा प्राचीन चित्रहरूमा सुनलाई नै रङ बनाई प्रयोग गरिन्थ्यो । परन्तु आधुनिक चित्रहरूमा सुनौला वस्त्रहरुमा सुनका गहनाहरू देखाउनु पर्दा सुनलाई नै रङ बनाइरहनु नपर्ने भई बदामी, फिक्का पहेँलो, नीलो, सेतो, हरियो, रातो र सुन्तला रङहरूको सम्मिश्रणबाट सुन या सुनौला वस्त्र देखाइन्छ ।
जो सुनकै प्रयोगभन्दा झन् स्वाभाविक र सुन्दर प्रतीत हुन्छ । तान्त्रिक पद्धतिका पुस्तकहरू, थ्यासफूहरू, भित्तेचित्रहरू, पौभाचित्रहरूमा रहेका चित्रहरूको संरक्षण गर्नु आजको प्रमुख टड्कारो हो ।