- बिक्सन महर्जन
नेवा: परम्परामा नयाँ घर निर्माण सम्पन्न भएपछि कनिपा: फयकिउ गर्ने चलन रहेको छ । घरको माथिल्लो छानो (हिजो आज ढलान गरेको) राखेको समयमा आफ्ना ईष्टमित्र आफन्त बोलाई यो कार्य गरिन्छ । यो परम्परामा आफन्तले ल्याएको धोती साडी घरमा टाँग्ने गरिन्छ ।
यस्तै घरको मूल सदस्यलाई पिखालाखी (क्षेत्रपाल)मा राखीमाथिबाट पानि खन्याई नुहाई दिने गरिन्छ । निकै दु:ख गरी बनाएको घरमा शुभ रहोस्, कुनै अशुभ बिघ्नबाधा नआओस् भनी यो संस्कार गरेको भन्ने कथन रहेको छ । यो संस्कारको नाम ठाउँअनुसार भिन्दाभिन्दै नामकरण गरिएको पाइन्छ । काठमाडौंको चन्द्रागिरिका नेवा: बस्तीलगायत कीर्तिपुरमा यस विधिलाई कनिपा:फयकिऊ भनिन्छ भने काठमाडौंकै अन्य ठाउँमा पलिं चियीगु भन्ने गर्छ ।
यस्तै, भक्तपुरमा यो पूजालाई पोलंपूजा भन्ने गरिन्छ । पोलं पूजा भन्नाले नयाँ घरको छत (पलि) पूजालाई बुझिन्छ, यो अवसरमा छोरीहरूले नयाँ साडी उडाउने गर्दछन् जसलाई प्रासी बोकेगु भनिन्छ । कोहीकोहीले घर पूर्ण बनेपछि यो कार्य गरेको पाइन्छ । यस शुभकार्यमा साडी टाँग्ने बेला धोतीको एक छेऊमा दक्षिणास्वरूप केही नगद रकम पोको पारेर राखेका हुन्छ। सारी फहराउने चलन ख्वप का ज्यापू किसानहरुले गर्दैन।विशेष खालको पतचा(झण्डा) चढाउने गरिन्छ।