– सुरोज महर्जन
ख्वना(खोकना) स्वनिग: (नेपाल उपत्यका)को इता(दक्षिण) दिशा अवस्थित ऐतिहासिक तथा सांस्कृतिक नेवा: बस्ती हो । युरोपमा सहकारी अवधारणा विकास हुनुअघि नै व्यवस्थित सहकारी अभ्यास गर्ने पहिलो थलोको रूपमा पनि ख्वनालाई लिइन्छ। उक्त सहकारी अवधारणा पनि तोरीको तेलबाट नै सुरुवात भएको हो । सामान्यज्ञान तथा हाजिरीजवाफमा पनि बारम्बार जिकिर तोरीको तेलको लागि प्रसिद्ध ठाउँ भनी ख्वनालाई नै चिनिन्छ । ऐतिहासिक ख्वनामा पूर्णरूपमा नेवा: समुदायको बसोबास छ। त्यसमाथि लगभग ९५% ज्यापु उपसमुदायको बाहुल्यता देखिन्छ । कुनै बेला नाय(शाही,खड्गी) तथा नौ(नापित) समाज पनि ज्यापु समुदाय कै अङ्ग मानिन्थ्यो। तर वर्ग व्यवस्थाले छुट्याएको भनिन्छ ।
ज्यापु कृषिमा पारङ्गत उपसमुदाय हो । यस उपसमुदायको आफ्नै सङ्गठन हुन्छ जसमा जन्मदेखि मृत्युसम्म अरू उपसमुदाय नचाहिने परम्परा रहेको देखिन्छ। तर हिन्दु र बौद्ध धर्मको नजिकताले अन्य उपसमुदायको पनि आवश्यक पर्न आएको देखिन्छ । ख्वनाका ज्यापु उपसमुदाय तेल मिलको काम गर्ने भए पनि थर भने डंगोल र महर्जन नै लेख्ने गरिन्छ। खास गरी वर्ग विभाजन गर्दा तेलमिलको काम गर्ने श्रमजीवीलाई सायमी (मानन्धर) भन्ने गरिन्छ। तर ख्वना यसको अपवादमा रहेको देखिन्छ।
ख्वनाको तेलमिल सहकारी अवधारणा अनुरुप तेलमिल समुदायको हुन्छ। तर ब्यक्ति तथा परिवारले आफ्नो आवस्यकता अनुरुप उपयोग गर्न पाउछ। जसले समाजवादको केही धारणा पनि अङ्गालेको पाइन्छ । सुरुमा तेलमिलमा तोरीलाई टुक्राउने गरिन्छ। त्यस तेललाई पकाइन्छ र उक्त पकाएको तोरीलाई मेया छ्यङ्गु म्हिचा(राँगाको छालाको झोला)मा डोरी सङ्गै हालिन्छ। फलामको झोला सङ्गै परिमार्जन भएको तोरी राख्ने झोला अहिले आएर प्लास्टिकको सम्म प्रयोग गर्न थालेको छ । ठूला काठहरूले च्यापेर तोरीको तेल पिलिन्छ। पेलेर बाकी भएको ढिक्कालाई खौ(पिना)भनिन्छ। जुन खौ लाई फेरी दुई चोटि तेल पेल्न प्रयोग गर्न मिल्छ। मलको रुपमा प्रयोग गरिने खौ लाई चोख्याउनको लागि पनि प्रयोग गरिन्छ। त्यस्तै सौन्दर्यताको लागि पनि खौ को प्रयोग हुन्छ ।
तोरी धेरै प्रकारका पाउछौँ जस्तै रातो, पहेलो, कालो अथवा खैरो आदि। ख्वनामा तोरी प्राय धानको काम सकेपछी मात्र लगाईन्छ। तोरीको तेल व्यापार गर्न हाम्रा पुर्खाहरु स्वनिग:(नेपाल उपत्यका) मा मात्र नभैइ गोरखा, लमजुङ, चितवन आदि धेरै जिल्लाहरुमा पनि जाने गरिन्थ्यो। मुद्राको आर्जनमात्र नभैइ तोरी तथा अन्य जिन्सी समान पनि साटेर ल्याइन्थ्यो। जुट तथा अन्य धागोले बनेका (म्हे)बोरा मा काठ तथा माटोको थैलोमा तेल हाली बाफ्ल्या न्वो (आदि चिरेको बाँस) का साथ बस्ती बस्ती हुँदै तोरीको तेलको व्यापार हुन्थ्यो।