काठमाडौंको व्यस्त बजार नयाँ सडकको छेउमै संकटा भगवतीको मन्दिर छ । संकटा र करुणामयको मन्दिर एउटै हो, जसको तल्लो तलामा करुणामय र माथ्लो तलामा संकटाको मूर्ति राखिएका छन् । मस्त्येन्द्रनाथलाई करुणामय पनि भनिन्छ । यता संकटालाई भने समस्या र संकट हटाउने देवीका रूपमा लिने गरिन्छ, जसको पूजाआजा ज्यादा मात्रामा वज्राचार्यले गर्ने गरेका छन् ।
यो स्थल १७ औँ शताब्दीमा राजा प्रताप मल्लले निर्माण गरेको धार्मिक स्थल हो । संकटा देवीसँग सम्बन्धित तीर्थस्थल हो, जसलाई अजिमा पनि भनिन्छ । उनी आफ्ना भक्तहरूलाई दुःख र संकटबाट जोगाउने देवता हुन् भन्ने मान्यता रहेको छ । हिन्दू धर्ममा, उनी प्रायः दुर्गाको अवतारको रूपमा देखा पर्छन्, ईश्वरीय मातृ देवीको भयंकर र सुरक्षात्मक पक्षको रूपमा संकटालाई देखाउने गरिन्छ । बौद्ध धर्ममा उनलाई प्रबुद्ध प्राणीहरूको दयालु र सुरक्षात्मक गुणहरूलाई मूर्त रूप दिने धर्म रक्षकको रूपमा हेरिन्छ ।
संकटाको स्थापनाका सम्बन्धमा काठमाडौं उपत्यकामा एउटा किंवदन्ती प्रचलित छ । त्यस अनुसार, लिच्छविराजा नरेन्द्रदेवका समयमा काठमाडौं उपत्यकामा १२ वर्षसम्म खडेरी परेछ । खडेरीको कारण खोजी गर्दा त्यसको मुख्य कारण गोरखनाथ रहेको थाहा भयो । उनी उपत्यकाका सबै नागहरूलाई आप्mनो अधीनमा लिई स्वयम्भूस्थित गुफामा दिव्य साधनामा बसेका रहेछन् । गोरखनाथको अधीनमा परेका नागहरूले वर्षा गराउन पाएनछन् । यता नागहरूलाई गोरखनाथको अधीनबाट मुक्त गराई उपत्यकामा वर्षा गराउनका लागि उनलाई साधनाबाट ब्युँताउन आवश्यक थियो । यो कुरा उनका गुरु मत्स्येन्द्रनाथबाट मात्र सम्भव रहेछ ।
तसर्थ भारतको असममा रहेका मत्स्येन्द्रनाथलाई उपत्यका ल्याउने तयारी गरिएछ । काठमाडौं आउँदा बाटामा उनलाई विघ्नबाधा नपरोस् भनी संकटाको कलश उनीसाथै ल्याइएछ । मत्स्येन्द्रनाथ उपत्यका आइपुग्नासाथ आप्mना गुरु आएको थाहा पाएर गोरखनाथ साधनाबाट ब्युँतिएर गुरुको स्वागत गर्न आएछन् । अनि उनको नियन्त्रणमा रहेका नागहरू स्वतन्त्र भएछन् र उपत्यकामा वर्षा गराएछन् । यता मत्स्येन्द्रनाथका लागि काठमाडौंमा करुणामयको मन्दिर बनाइएको थाहा पाएपछि संकटाले पनि यही मन्दिरमा बस्ने मनसाय राखिछन् । त्यसपछि उनको मूर्ति करुणामयको मन्दिरको माथ्लो तलामा राखिएछ ।
संकटाको मन्दिर नेपाली तले मन्दिरको शैलीमा दुई तलाको बनाइएको छ । यसको छाना धातुका पाताले बनेको छ, जसको माथ्लो भागमा धातुकै पाँच वटा गजुर राखिएका छन् । मन्दिरअगाडि बन्धुदत्त वज्राचार्यको मूर्ति छ, जसले करुणामयलाई काठमाडौंमा ल्याएको मानिन्छ । संकटामा बौद्धमार्गीहरू तान्त्रिक विधिले पूजाआजा गर्दछन् भने हिन्दूहरू नवरात्रका बेला यिनको पूजाआजा गर्दछन् ।
किंवदन्तीअनुसार देवी संकटा एक शक्तिशाली पौराणिक कथासँग सम्बन्धित मानिन्छ। भनिन्छ कि उनी एक राक्षसलाई परास्त गर्न निस्किएकी थिइन् जसले मानिसहरूलाई अपार पीडा दिइरहेको थियो। उनको ईश्वरीय हस्तक्षेपमार्फत उनले तिनीहरूको दुःखको अन्त्य गराइन्, यसरी तिनीहरूको अटल भक्ति कमाईले भक्तको रक्षा गर्ने देवीको रूपमा उनलाई चिनाइन्छ ।