भक्तपुर वडा नं ५ सुकुलढोका टोलमा एक चोक रहेको छ जसको नाम विद्यापिठ हो । साधारणतया आचाजुहरुको आगंछें भनेर चिनिने यस चोकमा कर्मचार्यहरुको आगं देवता रहेको छ । यो चोक हेर्दा जति समान्य देखिन्छ त्यति नै विशिष्ट पनि रहेको छ । यस चोकको पहिलो विशेषता यहाँ सूर्यविनायकको मन्दिर रहेको छ।
हुबहु सूर्यविनायक मन्दिरकै संरचनामा यहाँको गणेश मन्दिर पनि निर्माण गरिएको छ । त्यस्तै, अर्को विशेषतामा यहाँ रहेको ल्वहं हिति हो । यहाँ रहेको ल्वहं हिति पूर्व दिशा फर्किएको छ । यो हिति सूर्यविनायकको हितिबाट सुरू हुन्छ भन्ने मान्यता रहेको छ । गुन्ही पुन्ही (जनैपूर्णिमा) का दिन नौ वटा पूर्वाभिमुख ल्वहं हितिमा मुख धुने चलन रहेको छ । त्यसमध्ये एक सूर्यविनायकको उकालोमा रहेको ल्वहं हिति पनि हो । यदि त्यस स्थानसम्म पुग्न नसके यस चोकमा रहेको हितिमा मुख धुए उति नै फल प्राप्त हुने जनविश्वास रहेको छ ।
तेस्तै तेस्रो विशेषतामा यस चोकमा खाटका चार थामहरूमध्ये एक थाम राखिएको छ । यो थाम कसको खाटको थाम हो भन्ने प्रश्नमा राजा रुद्र मल्लको पालामा सिम्रौनगढबाट तुलजा भवानी ल्याए । उक्त भवानीको मन्दिर बनाउने क्रममा खाल्डो खनेर तुलजा भवानीको मूर्ति राखी निस्केको सबै माटो पुरेको स्थानमा तुलजा (तलेजु) भवानीको मन्दिर बनाउनुपर्ने भएपछि उक्त परीक्षण पहिलोपटक वने लायकु, तचपालमा गरियो । त्यहाँ सम्पूर्ण माटो नपुरेपछि दोश्रो पटक ब्रह्मपुर, नासमनामा गरियो ।
त्यहाँ पनि असफल भएपछि तेस्रोपटक अग्निगोत्री ब्राम्हणको घर, हालको दरवार स्क्वायरमा परिक्षण गर्दा सफल भए । तसर्थ उक्त स्थानमा तलेजु भवानीको मन्दिर बनाउने निर्णय भयो तर ब्राम्हणले सो घर छोड्न मानेन । राजाको हदको अगाडि केही नलागेपछि ब्राम्हणले आत्मदाहा गरे । आत्मदाह गरेको खाटको चार थामहरूमध्ये एक स्वर्णद्वारको अगाडि रातो मन्दिर बनाई स्थापना गरे । दुई थाम सिलु महादेवसँगै बटुक भैरवमा स्थापना गरे भने बाँकी एक थाम यसै विद्यापीठ चोकमा स्थापना गरिएको छ ।