आज माघ १ गतेको दिन भक्तपुरमा सम्यक महादानको उत्सव देखिएको छ । काठमाडौं उपत्यकामा अपनाइने बज्रयान परम्पराअनुसार गरिने विभिन्न चर्याहरूमा दानपारमिता प्रमुख हुन् । प्राचीनकालदेखि नै विभिन्न तरिकाबाट दान दिने अभ्यास गर्दै आएका छन् । दानको अभ्यासलाई विशेष दिन पारेर पर्वको रूपमा विकसित गरेका छन् । यस्तै, पर्वहरूमध्ये एक हुन् सम्यक दान ।
सम्यक भन्नाले नेपाल भाषामा उत्कृष्ट वा राम्रो भन्ने अर्थ लाग्छ । प्रत्येक वर्ष माघे संक्रान्तिको दिन भक्तपुरमा सम्यक दान पर्व मनाइन्छ । नेपाल सम्बत् ७८७ मा राजा नरेश मल्लको शासनकालमा जयरत्न बज्राचार्यले शुरुवात गरेको यस सम्यक दान पर्वमा भक्तपुरस्थित क्वाठण्डौं प्रशन्नशील महाविहार, गोल्मढीको मंगल धर्मद्वीप महाविहार, साकोठाको चतुर्ब्रम्ह महाविहार, इताछेंको जयकीर्ति महाविहार र भार्वाचोको बौद्ध समकृत विहार (सुक्रवर्ण महाबिहार) का पाँच दीपंकर बुद्ध र प्रशन्नशील महाविहारका क्वाचपाल देवता, सम्यक दान दाताको कुल देवता, थासंद्यो (सुवर्ण चैत्य), चार लुँद्यो (सुवर्ण दीपंकरहरू), स्वयम्भू तथा प्रशन्नशील महाविहारका स्थविर आजु, गुणकीर्ति महाविहार (ठिमी) का उपाध्याय गुरुजू एवं मूल पुरोहित गुरुजुहरूको सहभागितामा सम्यक दान पर्वको सुरुवात गरिन्छ ।
जयरत्न बज्राचार्य ती व्यक्ति हुन जसले ने.सं ७९४ मा जयकीर्ति विहार भनी जिर्णोद्वार गरेका थिए । उहाँकै नामले उक्त बिहारको नाम जयकीर्ति रहन गएको थियो । यस दिन भक्तपुरमा रहेका ऐतिहासिक तथा पुरातात्विक महत्वका यी पाँचवटा महाविहारमा विराजमान दीपंकर बुद्धहरुलाई नःपुखुको पश्चिमतिर रहेको थथुवहि (जयकीर्ति महाविहार) को परिसरमा रहेको तिनख्य क्षेत्रमा सम्यक भोजन तथा धर्तीमा उब्जनी भएका सबै व्यञ्जनको विशेष परिकार (जस्तै:- रोटी र सख्खर मिलाई बनाएको विशेष प्रकारको लड्डु) बनाएर चढाउने र दक्षिणा दिने प्रचलन रहेको छ । सम्यक महादान व्यवस्थापन सहयोग समितिले यस सम्यक महादान पर्वलाई व्यवस्थित र भव्यरूपमा सञ्चालन गर्दै आएको छ ।
सम्यक महादान काठमाडौंमा १२ वर्षको एकपटक स्वयम्भूको भुइँख्यालमा हुन्छ, ललितपुरमा पाँच वर्षको एकपटक नागबहाल हुन्छ र भक्तपुरमा प्रत्येक वर्ष मनाएको पाइएको छ ।