काठमाडौँ- तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले करिब सवासय वर्षअघि फर्पिङमा नेपालकै पहिलो जलविद्युत् आयोजना बनाएका थिए। अहिले बन्द रहेको यो आयोजनाको जलभण्डारबाट करिब १०० मिटर उत्तरमा स्थानीय विकास श्रेष्ठ रेस्टुरेन्ट चलाउँछन्। पुरानो शैलीको घर भाडामा लिएर उनले रेस्टुरेन्ट चलाएका हुन्। रेस्टुरेन्टलाई पुराना शैलीका भाँडा, राणाकालीन इँटालगायत सामग्रीले सजाएका छन्। यहाँ आउनेहरूले घर र सजावटको प्रशंसा गर्ने गरेको उनी बताउँछन्।
तर पुराना शैलीका घर अहिले काठमाडौँ उपत्यकाको शहरी र आसपासका क्षेत्रमा देखिँदैन। फाट्टफुट्ट भेटिने यस्ता घर पनि अब भत्काइने समयको पर्खाइमा छन्। कतिपय घर आठ वर्षअघिको भूकम्पले कमजोर बनाएपछि बस्नयोग्य छैनन्। यद्यपि, शहर र आसपासमा भेटिने केही घर पुरानो समयका साक्षी बनेका छन्।
ललितपुर सुनाकोठीस्थित सिमाखोचोक पुग्दा दाहिनेतर्फ पुरानो शैलीको घर छ। उहिलेको नेपालको झल्को दिने यही घरमा रामकेशरी महर्जन पसल चलाउँछिन्। उनले बेच्ने सामग्री पनि परम्परागत नै छन्। उनी धार्मिक कार्यमा चाहिने र परम्परागत रूपमा प्रयोग हुने बस्तुहरू दुनाटपरी, धुपबत्ती, कपुर, घिउ, तेल, काजु, किसमिस, मसला माटोका भाँडा आदि बेच्छिन्।
त्यहाँबाट केही पर छाँसटोल पुग्दा धर्मभक्त्त महर्जन आफ्नो पसलबाहिर साथीभाइसँग गफिइरहेका थिए। उनको घर पनि पुरानो शैलीकै छ। आफूसहित ६ जना दाजुभाइ, दिदीबहिनी यसै घरमा हुर्किएको उनले बताए। तर अहिले यो घरमा उनले पसल मात्र चलाउँछन्, कोही बस्दैनन्।
२०७२ सालको भूकम्पले घर कमजोर भयो। दाजुभाइ छुट्टिँदै जाँदा त्यही घर पनि दुई जनाको भागमा परेको छ। भूकम्पपछि धर्मभक्तले पक्की घर बनाएका छन्। छोराछोरीको चाहनाले सिमेन्टको घर बनाएको उनी बताउँछन्। तर आफूलाई भने पुरानै शैलीको माटोको घर नै मन पर्ने उनको भनाइ छ। उनी भन्छन्, “सिमेन्टीको घरमा जाडोमा धेरै जाडो हुन्छ, गर्मीमा तातेर झनै गर्मी गराउँछ। जाडो र गर्मीमा बस्न त माटोकै घर राम्रो।”
त्यहाँबाट थेचो नपुग्दै पुरानो घरको झ्यालमा लटरम्म खुर्सानी सुकाइएको भेटियो। विश्वराम महर्जन (७६) टहलिन घरबाट निस्किदै थिए। उनी बसिरहेको घर उनका बाबुले चार दशकअघि बनाएका थिए। त्यतिबेला आठ हजार रुपैयाँमा घर बनेको उनले बताए।
विश्वरामका चार दाजुभाइको अझै अंशबण्डा भएको छैन। यो घर चार दाजुभाइमा बाँड्नुपर्ने भएको छ। “अब छोराछोरीको कमाइले खर्च धान्न ठिक्क हुन्छ। टुक्राटाक्री गरेर आठ आना जति जग्गा बाँकी छ, जग्गा नबेची नयाँ घर बनाउन सम्भव छैन,” उनी भन्छन्।
टीकाभैरवका सुदर्शन थापा नजिकैको आनन्दवन अस्पतालमा काम गर्छन्। उनी बसिरहेको घर आठ वर्षअघिको भूकम्पले चर्काएपछि नयाँ बनाउँदै छन्। बसोबासका हिसाबले पुरानै घर मन पराउने उनी भूकम्पको डरले कंक्रिटको घर बनाउनु परेको बताउँछन्।
दक्षिणकाली नगरपालिका सोखेलका मधु बस्नेतका चार दाजुभाइ छन्। उनका बाबुले २०३८ सालतिर चारै दाजुभाइलाई एकएक वटा घर बनाइदिए। ती सबै ढुंगामाटोले बनेका पुरानो शैलीका थिए। अहिले उनीसहित सबै दाजुभाइले नयाँ पक्की घर बनाइसके। तर मधुलाई आफ्नो पुरानै घरको माया लाग्छ। सरकारी सेवाबाट निवृत्त भएपछि उनले पुरानो घरमा केही बाख्रा पालेका छन्। “मेरो दैनिकी अझै पनि पुरानै घरमा बित्छ, नयाँ घर त खान र सुत्न मात्र जाने हो,” उनले भने।
शहरी योजनाकार तथा वातावरणविद् प्राडा भरतप्रसाद शर्माका अनुसार नेपाली मौलिक सीप तथा प्रविधिको प्रयोग गरेर परम्परागत शैलीका घर अहिले पनि बनाउन सकिन्छ। पछिल्लो समय नयाँ र आयातित प्रविधिबाट कंक्रिटका घर बनाउनु नेपाली मौलिकतालाई चुनौती त हो नै, यसले अर्थतन्त्रमा पनि प्रभाव पारेको छ।
दिगो निर्माणका लागि स्थानीय स्रोतसाधनको प्रयोग हुनुपर्ने शर्माको भनाइ छ। प्राकृतिक प्रकोपमा समेत यसप्रकारले निर्माण भएका संरचनाको पुनर्निर्माण गर्न सहज हुने उनी बताउँछन्। भूकम्पजस्ता प्राकृतिक प्रकोप प्रतिरोध गर्न सकिने विषय नभएको हुँदा परम्परागत शैलीका घरमा पनि जोखिम न्यूनीकरण गर्न सकिने उनी बताउँछन् ।