काठमाडौं । अन्ततः पाँच वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका तपस्वी’ रामबहादुर बम्जन पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको छ । काठमाडौँको बूढानीलकण्ठस्थित आफ्नै घरबाट आज साँझ ७ बजे पक्राउ परेका उनले प्रहरीबाट उम्किन अन्तिमसम्म प्रयाससमेत गरेका थिए।
बम्जनमाथि पहिलोपटक सर्लाही अदालतले २०७६ माघमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता उनी फरार भएर बसेका थिए । पक्राउ गर्न नसकेपछि प्रहरीले २१ असार २०७७ मा उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सर्लाही जिल्ला वकिल कार्यालय हुँदै जिल्ला अदालत टेकाइसकेको छ ।
यसअघि उनको खोजीमा सीआईबीको टोली ४ असार २०७७ मा तालिम प्राप्त कुकुरसहित सिन्धुलीको आश्रम पुगेको थियो । बम्जनले सिन्धुलीको कमलामाई नगरपालिका-८, पैरेनीस्थित २० रोपनीभन्दा बढी क्षेत्रफलभित्र सुविधासम्पन्न आश्रम बनाएका छन् ।
उनीमाथि २० साउन २०७३ मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ । त्यही आरोपको तीन वर्षपछि सर्लाही प्रहरीमा पीडितका परिवारले किटानी जाहेरी दिएका थिए ।
प्रहरीले बम्जनका आश्रमहरूबाट यसअघि शव गलाउन प्रयोग गरिएका नुनका ढिकाहरू बरामद गरेको थियो । बम्जनमाथि सर्लाही, नुवाकोट र मकवानपुरबाट आश्रम आएका तीन युवतीलाई बलात्कार गरेको आरोप लागेको छ ।पछिल्लो समय सीआईबीले बम्जनको खोजीका लागि छुट्टै टिम परिचान गरेको थियो । त्यही टोलीले केही शंकास्पद मानिस र उनीसँग नजिकका मानिसको निगरानी गर्यो ।
सीआईबी स्रोतका अनुसार उनी एक हप्ता अघिमात्रै काठमाडौंको बूढानीलकण्ठ छिरेको सूचना प्रहरीले पाएको थियो । त्यही सूचनाको आधारमा सीआईबीको टोलीले बूढानीलकण्ठ क्षेत्रको शंकास्पद क्षेत्र नै निगरानीमा राख्यो ।
मंगलबार साँझ भने सीआईबीको टोलीले उनी बसेको आशंका गरेको घरमा छापा मारेर नियन्त्रणमा लिएको हो । सीआईबीको टोलीले छापा मारेको चाल पाउना साथ घरको झ्यालबाट हाम फालेर भाग्ने प्रयास गरेका थिए । त्यही बेला उनी पक्राउ परेका हुन् ।
प्रहरीसँगको बयानका क्रममा उनले आफू तराईका विभिन्न जंगल र भारतसमेत पुगेको बताएका छन् । उनीमाथि सीआईबीको टोलीले थप अनुसन्धान अघि बढाएको छ ।