काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली गोदाममा रहेको च्याङ्ग्रा कुकुरले टोकेर मारेको छ । पौष १८ गते बुधबार मध्यराति ४/५ वटा कुकुरको एक समुहले खोरभित्र छिरेर च्याङ्ग्राहरुमा आक्रमण गर्दा हालसम्म २२ वटा च्याङ्ग्रा मरिसकेको कम्पनीको बागमती प्रदेश प्रमुख ज्ञानु थापाले बताइन् ।
थापाका अनुसार नियमित दाना पानी खुवाएर खोरमा नै रहेको च्याङ्ग्राको समुहमा मध्यराति १२ बजेपछि ४/५ वटा कुकुरको एक समुहले आक्रमण गरेको हो । बिहान दाना पानी खुवाउने बेला उक्त च्याङ्ग्रा हेरचार गर्ने भाइहरु खोरमा पुग्दा च्याङ्ग्राहरु ढलिरहेको जानकारी दिएको प्रमुख थापाले बताइन् । लगत्तै अफिस आएर सिसिटिभी फुटेज हेर्दा कुकुरले टोकेको भन्ने निश्चित भएको उनले बताईन् ।
कम्पनीले पत्रकारहरुलाई सो को सिसिटिभि फुटेजसमेत देखाएको थियो । कुकुरहरुले लछार पछार गरेर आक्रमण गरेको सिसिटीभी फुटजमा देख्न सकिन्छ । दशैँकालागि ल्याएको मध्ये ४७ वटा च्याङ्ग्रा बाँकी रहेको थियो । ति माध्ये ३३ वटालाई कुकुरले आक्रमण गरेको हो । बाँकी १४ वटा सकुशल रहेको उनको भनाई छ । कुकुरले आक्रमण गरेको मध्ये पनि २२ वटा मरेको र ११ वटा भने सकुशल रहेको जनाइएको छ ।
उक्त मरेका च्याङग्राहरुको केन्द्रीय रिफरल पशु चिकित्सालमा ल्याब टेष्ट पनि भइसकेको छ । रगत धेरै बगेर च्याङ्ग्राहरु मरेको त्रिपुरेश्वरस्थित चिकित्सालयका भेटनेरी डा. शुदिप रेग्मीले जानकारी दिए । उनका अनुसार उक्त कुकुरहरुले टोकेर रेबिज भने संक्रमण भएको छैन् । अर्थात आक्रमण गर्ने कुकुरहरुमा रेबिज संक्रमण थिएन । डा. रेग्मीका अनुसार कुकुरले टोकेर नमरेका च्याङ्ग्राहरु भने खान सकिने छ । आक्रमण भएर पनि नमरेका च्यांङ्ग्रहरुलाई रोबिज विरुद्धको भ्याक्सिन पनि दिइएको उनले बताए ।
मरेका च्याङ्ग्राहरुलाई गोदाम परिसरमा खाडल खनेर पुरिएको छ । मरेका २२ च्याङ्ग्रालाई शुक्रबार गाडिएको हो । दशैँका लागि खाद्यले रसुवाबाट ५४२ वटा च्याङ्ग्रा ल्याएको थियो । जसमध्ये दशैँ र तिहारमा सक्किपछि पनि १०० वटा च्याङ्ग्रा विक्री हुन बाँकी थियो । ति च्याङ्ग्रा बिक्रीका लागि खाद्यले लिलाम विक्रीको सूचना जारी गरेको थियो । तर, लिलाम विक्रीबाट १ वटा च्याङ्ग्रा पनि बिक्री नभएको प्रमुख थापाले बताइन् । त्यसपछि एउटा एउटा बिक्री भएर ४७ वटा बाँकी रहेको थियो । तिनै बाँकी भएको खोरमा बुधबार कुकुरले आक्रमण गरेको हो । दशैँदेखि लिलामका लागि सूचना जारी गर्दासम्म खाद्यले च्याङ्ग्राको मूल्य ३ पटक घटाई सकेको थियो ।
मरेका च्याङ्ग्राहरु १५ देखि ३५ केजीसम्मका रहेको प्रमुख थापाको भनाई छ । उनकै भनाई अनुसार औसतमा एउटा च्याङ्ग्रा २५ केजीको थियो । खाद्यले लिलाममा बिक्री गर्न राखेको मूल्य प्रतिकेजी ११ सय २५ रुपैयाँ तोकेको थियो । यस हिसाबले ५५० केजीको मूल्य ६ लाख १८ हजार पर्न जान्छ । अर्थात खाद्यलाई ६ लाख १८ हजार बढी घाटा लागेको बताईएको छ ।