काठमाडौं । पोर्चुगल पठाइ दिने भन्दै झण्डै १० लाख ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले नुवाकोटको पञ्चकन्या गाउँपालिका-२ घर भई हाल काठमाडौं टोखा नगरपालिका-११ मनमैजु बस्ने २२ वर्षीय रचना थापालाई पक्राउ गरेको हो ।
उनले रामचन्द्र कार्कीलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाउन प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्ने र पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काम लगाएर मासिक एक लाख ३० हजार रुपैयाँ तलब हुने प्रलोभनमा पारेर ठगी गरेको आरोप छ ।पीडितबाट पटक-पटक गरी ९ लाख ९० हजार रुपैयाँ लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।
उनलाई काठमाण्डुको टोखा नगरपालिका-११ मनमैजुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।