पशुपति क्षेत्र विकास कोषमा कार्यकारी निर्देशक नियुक्त भएकी लक्ष्मी पुनको नियुक्ति विवाद संसद्ममा पुगेको छ । संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले कार्यकारी निर्देशक नियुक्तिबारे कागजात माग गरेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीको मन्त्रीस्तरीय निर्णयबाट सो नियुक्ति भएको थियो । फरक धर्ममा आस्था राख्ने व्यक्ति पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक बनेको भन्दै चर्को विरोध भएको थियो । समितिको बैठकमा विभिन्न दलका सांसदहरूले पुनलाई पशुपति क्षेत्र विकास कोषको निर्देशकमा गरिएको नियुक्तिबारे प्रश्न उठाएका थिए ।
समितिको बैठकपछि निर्णय सुनाउँदै सभापति राजकिशोर यादवले ३ दिनभित्र कागजात उपलब्ध गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोशलाई निर्देशन दिए।
पुन माओवादी नेता जनार्दन शर्मा गृहमन्त्री हुँदा प्रेस संयोजक भएकी थिइन्। उनी सत्तारुढ माओवादी केन्द्रकी केन्द्रीय सदस्यसमेत हुन् ।