काठमाडौं । जनताको चुलो महँगिएको छ । रोजगारीको अवसर सिर्जना भएका छैनन् । देशमा बस्ने भन्दा पनि निराश हुँदै विदेश जानेको संख्या बढ्दो छ । सेयर बजार लामो समयदेखि सकारात्मक छैन । व्यापारिक सटरहरू बन्द भइरहेका छन् । अर्थतन्त्र सकारात्मक नभएको भन्दै गुनासो छ ।
देशको अर्थतन्त्रको बागडोर कांग्रेससँग छ । अर्थमन्त्री देउवा परिवारका विश्वासपात्र प्रकाशशरण महत छन् । तर, अर्थतन्त्रमा देखिने काम नभएको उनकै पार्टीबाट आरोप लाग्ने गरेको छ । केन्द्रीय सदस्य पौडेल सरकार सफल नहुनुमा बढी भागिदार प्रधानमन्त्री हुने भए पनि सरकारमा बसेपछि कांग्रेस पनि उत्तिकै भागिदार हुने बताउँछन् । आर्थिक संकट हल गर्न देखिने गरी काम हुन नसकेको निष्कर्ष उनको छ ।
उनी अर्थतन्त्रको संकट समाधानको उपाय अपनाउन नसकेको मात्र हैन सरकार परामर्श तहमा पनि नपुगेको धारणा राख्छन् । संरचना र संस्थागत सुधार, रोजगारी सिर्जना, अवसरको र बजेटको समान वितरणमा सरकारले काम गर्यो भन्ने ठाउँ नरहेको धारणा उनको छ । त्यसैले पार्टी र सरकारको बचाउमा गरी अभिव्यक्ति दिने आधार नभएको उनी बताउँछन् ।
“पार्टी सार्वजनिक विषय हो । नेतृत्वले काम गर्न सकेन भनेपछि चुप लागेर बस्ने अवस्था छैन । म त्यहीँ पार्टीको हो विरोध गर्न हुन्न भनेर चुप लागेर बस्ने अवस्था छैन,” पौडेल भन्छन्, “कमजोरी भएको छ । हामी डिफेन्स गर्न सक्ने अवस्थामा छैनौँ ।”
तर, अर्थमन्त्री तथा पार्टी प्रवक्ता प्रकाशशरण महत भने इमान्दारीताका साथ पार्टीबाट गएका सबै मन्त्रीहरूले कार्यसम्पादन गरिरहेको दाबी गर्छन् । “हामी पूणर् लगाव लगाएर प्राथमिकताका साथ काम गरेका छौँ । मन्त्रीले गरेको काममा प्रश्न उठाउने ठाउँ छैन । प्रधानमन्त्रीले कांग्रेसबाट बनेका मन्त्रीले काम गरेको छैन भनेको मैले सुनेको छैन,” महत भन्छन्, “अर्थतन्त्र सुधार भइरहेको छ, लय पकडेको छ अर्थतन्त्रले । समस्याको चाङ थियो हटाउँदै छौँ ।”