राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ । अमरसिंह चोकको खेल मैदानमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा लामिछानेमाथि स्टेजमै खोया प्रहार भएको हो ।
प्रहरीले लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको बताएको छ । तर, रविले कास्कीको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाबाट एक करोड रुपैयाँ लिएको समाचार प्रकाशित भएपछि आक्रोशित पीडितले मकैको खोया प्रहार गरेको धेरैको भनाई छ । रानाभाटलगायतले उक्त सहकारीमा राखेको रकम डुबेको छ ।
सहकारीको करोडौं रुपैयाँ झिकेर रविका व्यावसायिक पाटर्नर जिबी राई बेपत्ता भएका छन् । उनै राईसँगको सहकार्यमा ग्यालेक्सी टेलिभिजनको निम्ति भन्दै गोर्खा मिडिया नेटवर्कको नाममा रविले एक करोड लिएको सहकारीको वित्तीय विश्लेषणमा उल्लेख छ ।
सहकारी संस्थाको बचत रकम अपचलनका कारण धेरै सर्वसाधारणको उठिबास भएको छ । सूर्यदर्शनको वित्तीय स्थितिसम्बन्धी विश्लेषणात्मक प्रतिवेदनमा गोर्खा मिडिया नेटवर्कले १ करोड पेश्की लिएको भनिएको छ । उक्त रकम सभापति तथा माननीय रवि लामिछानेको नाममा भुक्तानी दिइएको प्रष्टसँग उल्लेख छ ।