काठमाडौँ उपत्यका तथा भक्तपुर राज्यमा राजा रणजीत मल्लको विशेष महत्व छ । उनका सात दरबारका कारणमात्र नभै उनका पाँच महारानीका कारण चर्चित र उल्लेखनीय मानिन्छन् । रणजीत मल्लका जेठी महारानीका जेठा पुत्र बीरनरसिंह मल्लसँग् गोरखाका राजा पृथ्वीनारायण शाहले मित लगाएका थिए ।
राजा रणजित मल्लका पाँच श्रीमतीहरू थिए । १. वृद्धिलक्ष्मी २. ऋद्धिलक्ष्मी ३. बुद्धिलक्ष्मी ४. नवमैजु ५. जयलक्ष्मी (मनमैजु) । पाँच महारानीबाट जन्मिएक डेढ़ दर्जन सन्तानका लागि राजा रणजीत मल्लले बहालहरू बनाएका थिए । युद्ध भयो भने भाग्न पनि हुने अनि छोराहरूलाइ बस्न पनि सजिलो हुने भएको यस्ता बहाहरू बनाएको बताइन्छ ।
भक्तपुरमा राजा रणजीत मल्लसँगै बिभिन्न राजाहरूले बहाहरू बनाएका छन् । तीमध्ये प्रख्यात बाहाहरूमा १) ५५ झ्याले दरवार २) थाथु बाहा – खौमा ३) दुबसी बाहा – कोलाछें ४) सन्तन बाहा – खौमा ५) खौमा बाहा – खौमा ६) कुथु बाहा – तपालाछी ७) थथुचा बाहा ८) नासमना बाहा नासमना ९) भोतया बाहा सोमला १०) पूँबाहा – टौमढी ११) दथुबाहा १२) चोछेंबाहा – बहत्वा चोछे हुन् ।
१) ५५ झ्याले दरवार (ङेङापा झ्य) ः नेपाल सम्बत ८२८ मा राजा भूपतिन्द्र मल्लद्वारा बनाएका ५५ झ्याले दरवार नै त्यस समयको मुख्य दरवार थियो । सम्पूणर् राजकाज यसै दरवारबाट हुने गर्थ्यो भने राज परिवारहरु पनि यसै दरवारमा बस्ने गर्थ्यो । यस दरवारमा ९९ वटा चोकहरु भएको कारण दुश्मन सेनाहरु सजिलै राजा भएको स्थानमा पुग्न सक्दैन ।
२) थाथु बाहाः खौमा टोलमा अवस्थित थाथु बाहा उच्च भेगमा रहेको कारण थाथु बाहा भनिएको हो । यो बाहा बिशेषगरी अजित सिंह मल्लको लागि बनाएको थियो ।
३) दुबसी बाहाः कोलाछें टोलमा रहेको यो बाहा राजा रणजित मल्लका ठाइँला छोरा अवधूतसिंह मल्लका निमित्त बनाएका थिए ।
४) सन्तन बाहाः बि.सं १८२६ मा भक्तपुर माथी आक्रमण गर्दा पृथ्वीनारायण शाहका सेनाले यस बाहाबाट नाचगानको सामनहरु लुटेका थिए भने पछि यो बाहा त्यस समय नाचगान सिकाउने बाहाको रुपमा प्रयोग गरेका थियो भन्न सकिन्छ । पृथ्वीनारायण शाहलाई सात बाहाले आक्रमणमा सहयोग गरेको कुरालाई यस बाहाले मिथ्या साबित गरेको थियो किनकी यस बाहामा पृथ्वीनारायण शाहका सेनाहरु हताहत भएको ईतिहास पाइन्छ । मनोहर सिंहको मातहतमा रहेको यो बाहालाई पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहले अर्को सेना लगेर यहाँका बाहा नायो समेतको हत्या गरेका थिए ।
५) खौमा बाहाः यो बाहा सबैभन्दा पुरानो बाहा हो । यसलाई खौमा बाहाका साथै खौमा क्वाथ पनि भन्ने गरिन्छ । १६ शताब्दीमा राजा भुवन मल्लको भाइ जित मल्ल प्रभाव शाली हुन्दा राजकाजमा हस्तक्षेप गर्न लाग्यो भनेर सैनिकको एक टुकडी सहित दरबारको पश्चिम भेगको सुरक्षाको लागि यो बाहाको नायो पद दिएका थिए । जित मल्ल पछि उनका छोरा गोसाई मल्ल नातिहरु पुणर्सिं भारो, अमरसिं भारो, दर्बोसिं भारो, मदनसिं भारो, जयसिं भारो यस क्वाथका क्वाथ नायो भएका थिए । जयसिं पछि उनका छोरा मनि र बिष्णु नायो भएका थिए । मनिका छोरा- रुद्र मनि, वीर मनि, रुद्र नारायण, कान्छा नगदेशमा बस्न गएका कारण नगदेश, कुथु बाहा र खौमा बाहाका मल्लहरु इन्द्रायणीलाई कुल देवता मानेर सिथी नखःको दिन पूजा गर्ने गर्दछन ।
६) कुथु बाहाः तपालाछिमा अवस्थित कुथु बाहा सबैभन्दा ठूलो बाहा हो । राजा जगत प्रकाश मल्लका सन्तानहरुको लागि बनाईदिएको यो बाहाको आफ्नै आगन देवता समेत रहेको छ । यस आगन देवतालाई तलेजु भवानीको समकक्ष समेत मान्दछ । यस आगन देवतालाई उर्डो आमनायक देवी अर्थात त्रिपुरसुन्दरी षोडशी देवी पनि भनिन्छ । बि.सं १८२६ मा यस बाहाका नायो भाजु कुटुले पृथ्वीनारायण शाहले आक्रमण गर्दा आफ्नो सम्पती (हिरा ज्वाहारात, सुन) लुट्ने कुरा थाहा पाएर आफ्नो म्होइ वीर नारायण लाखेको घरमा लुकाउन लगेको थियो । यो कुरा थाहा पाएर पृथ्वीनारायण का सैनिकहरुले लाखेको घरबाट लुटेका थिए भने राणाकालमा यस कुथु बाहाको जग्गा जमिन हरण गरेका थिए ।
७) थथुचा बाहाः बाराही द्यःछेंबाट भित्र थथुचा भन्ने स्थानमा रहेको बाहा नै थथुचा बाहा हो । उच्च भागमा रहेको कारण यसलाई थथुचा भनिएको हो । राजा रणजित मल्लकक छोरा जय नारायण सिंहको लागि निर्मित यस बाहामा पृथ्वीनारायण शाहका भारद्वार रामकृष्ण कुंवर पठाई मीत लगाउन, भेट गर्ने ठाउँको रुपमा परिचित छन ।
८) नासमना बाहाः नासमना टोलमा रहेको यो बाहा पुराना कलाकृति रहेको एक बाहा हो । यहाँ एक शिवलिङ्ग रहेको छ जसमा हरहमेसा यसको जलहरिबाट पानी बगेको हुन्छ । त्यस्तै यहाँ रहेको लक्ष्मी नारायणको मुर्तिको बिशेषता भनेको गर्भवती महिलाले दूध चढाउदा दायाँ गयो भने छोरा र बायाँ गयो भने छोरी जन्मिन्छ्न भन्ने मान्यतारहेको छ । यस बाहाका नायो प्रभु नारायण मल्ल हुन । उनका दाजु हेम नारायण मल्ल राजा रणजित मल्लको छडीदार थिए ।
पृथ्वीनारायण शाहले आक्रमण गर्दा प्रत्याक्रमण गर्न नदिइ रणजित मल्लको पगरी ५५ झ्याले दरवार बाहिर झुन्डाउने हेम नारायण मल्ल नै थिए । प्रभु नारायण मल्ल पृथ्वीनारायण शाहसंग मिलेको थियो । राज्य दिने लोभमा पृथ्वी नारायण शाहले आफ्नो साथमा लिएका थिए । राजा रणजित मल्ललाई कोठामा थुनेर राख्दा गोर्खालीको तर्फबाट बस्ने पनि प्रभु नारायण मल्ल नै हुन । उनले गोर्खालीको तर्फबाट धेरै लडाइँहरु लडेका थिए ।
पछिल्लो पटक तनहुँमा आक्रमण गर्दा सेन राजाहरुले बन्दी बनाएका थिए । बाँकी सेना सबैलाई मारेर उनलाई १३ दिन सम्म बन्दी बनाएर छोडे पछि पृथ्वीनारायण शाहले उनलाई बिश्वास गर्न छोडेका थिए । पछि अंग्रेजसंग लड्न सिन्धुलीको पठाउँदा सिमखानी गा.बि.स मा कोटदेवीको स्थापना गरेका थिए । पछि उनको कुनै खोजखबर नै भएन ।
त्यस्तै बेतियाबाट ल्याएको राजा रणजित मल्लको रानी वृद्धि लक्ष्मीले पृथ्वीनारायण शाहलाई भक्तपुरमा छिटो आक्रमण गर्नु पर्यो भनेर चिठी समेत लेखेका थिए ।
९) भोते बाहाः सोमला गलिमा रहेको एक बाहालाई भोतेबाहाल वा भोतेय बाहा पनि भनिन्छ । १७ शताब्दीमा राजा जगत प्रकाश मल्ल बनाएको यस बाहालाई ईच्छु बाहा पनि भन्ने गरिन्छ । बिशेषगरि पाहुनाहरु राख्न यो बाहा बनाएको थियो । राजा जगत प्रकाश मल्लले आफ्नो कान्छा छोरा उग्र मल्लको कयता पूजा (ब्रतबन्ध) को भोज खुवाउदा तिब्बतका मित्रहरुलाई समेत डाकेको थिए । ती भोत देशबाट आएकाहरु सबै यसै बाहामा राखेका थिए । त्यस्तै यो बाहा नजिकै धैरै भोगटेको रुख थियो त्यसैले यसलाई भोग्त्या बाहा पनि भनिन्छ । त्यस समय यस बाहामा नाचको प्रतियोगिताको आयोजना पनि गरेको थियो भने १२ बर्षको नाच खं प्याखं समेत हुने गर्दथ्यो ।
१०) पूँबाहाः टौमढी टोलमा रहेको यो बाहा राजा जितामित्र मल्लको भाइ उग्र मल्लको ब्रतबन्धको भोजमा कति खर्च भयो भनेर लेखाजोखा गर्ने बाहाको रुपमा चिनिन्छ । यसै बाहाको झ्यालमा बसेर ङातापोल बनाउदा राजा भूपतिन्द्र मल्लले निरिक्षण गरेको र कामदारहरुको लेखाजोखा गरेको थियो । यो बाहा त्यस समयका पुरोहितहरुलाई बस्न दिएको हुनाले पूँबाहा भनिएको हो । यस बाहामा जनै पूर्णिमाका दिन मुख धुने नौ वटा पूर्व दिशामा फर्केको ल्वहं हिति मध्ये एक रहेको छ भने यस बाहामा रहेको साँझ्यामा भक्तपुरमा पाइने सबै प्रकारको ल्वहं हितिको नमुना कुदिएको छ ।
११) दथुबाहाः बिचको बाहा भएकै कारण यस बाहालाई दथु बाहा भनिन्छ । यो बाहा हरिराम भारो र कुशल भारोको मातहतमा रहेको थियो । यो बाहा राजा जगत प्रकाश मल्लको पालामा बनेको थियो । मल्लकै सन्तती हरिराम भारो र कुशल भारो यो बाहाका नायो थियो । राजा जितामित्र मल्लको पालामा राजासंग रिसाएर हरिराम भारोले काठमाडौ संग सम्बन्ध बढाकोले काठमाडौका राजाले उनिहरुलाई नुवाकोटको प्रमुखमा नियुक्त गरेका थिए । राजा जितामित्र तिनीहरु देखि रिसाएर आक्रमण गरि यो बाहा आफ्नो साथमा लिएका थिए । यस बाहालाई तलमन्दीको बाहा पनि भनिन्छ ।
१२) चोछेबाहाः चोछें टोलमा अवस्थित बहत्वामा रहेको एक बाहालाई चोछें बाहा भनिन्छ । बिशेषगरी यो बाहा सैनिकहरु राख्न लागि बनाएको थियो ।जिआर रन्जित