नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुशासन र भ्रष्टाचारले जनता रिसाएको बताएका छन् । ’बिहान उठ्न साथ सुनकाण्ड, शरणार्थी काण्ड र एनसेल काण्डजस्ता भ्रष्टाचारले जनात रिसाएको हो,’ महामन्त्री थापाले भने,‘जनता आज रिसाएको छ ।
रिसको कारण लुकाउनु पर्दैन । कुशासन र भ्रष्टाचारका कारण रिसाएको जनतालाई संघीयता र गणतन्त्रका कारण मुलुकमा भ्रष्टाचार बढेको भन्दै भड्काउने काम भइरहेको छ ।’ जनकपुरमा कांग्रेस मधेश प्रदेश सम्मेलनमा सम्बोधन गर्दै थापाले कांग्रेसले ०८४ को चिन्ता गर्नुभन्दा पनि ०८० मा सुशासनका लागि काम गर्नु आवश्यक रहेको बताए । थापाले संघीयता र गणतन्त्रविरुद्ध जनतालाई भड्काउने काम भइरहेकोले राजनीतिक दलले ध्यान पुर्याउनु पर्ने बताए ।
मधेशका नेतालाई काठमाडौंमा समस्या भएपछि मधेशमा आएर ‘उठु मधेश, जागु मधेश’को नारा लगाएर मधेशकेन्द्रित दलहरुले लुट मच्चाएको उनले आरोप लगाए । ‘आउने निर्वाचनमा हामी छाता ओड्दैनौं, साइकल चढ्दैनौं, हँसिया हथौडामा छाप लगाउँदैनौं’, थापाले भने, ‘मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाएर सुशासनको नमुना देखाउनु आवश्यक छ ।’संघीयता कार्यन्वयनका लागि बनाउन बाँकी रहेका ४० कानुन बनाउन कांग्रेसले अग्रसरता देखाउनु पर्ने उनको भनाइ थियो ।