- आकाश सर्मा
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकार र देशभरका स्थानीय तहसँग लगानीयोग्य परियोजना छनौट गरी प्रस्ताव पेश गर्न अनुरोध गरेको छ । संघीय सरकारले आगामी बर्ष अर्थात २०८१ सालको ९ देखि ११ बैशाखमा तेस्रो लगानी सम्मेलन गर्ने निणर्य गरेको भन्दै मन्त्रालयले एक महिनाभित्र प्रदेश र स्थानीय तहसँग भएका लगानी योग्य परियोजनाको प्रस्ताव पठाउन भनेको हो ।
सरकारले लगानी सम्मेलन गर्ने निणर्य गर्दै मुख्यसचिवको नेतृत्वमा लगानी सम्मेलन कार्यान्वयन समिति गठन गरिसकेको छ । सो समितिको गत १९ मंसिरमा बसेको बैठकले लगानी सम्मेलनमा प्रस्तुत हने परियोजनाको पहिचान, विकास र तयारी गर्न प्राविधिक समिति बनाइसकेको छ ।
मिठाराम अधिकारीको नेतृत्वमा रहेको बुढानीलकण्ठ नगरपालिकालाई पनि यो प्रस्तावले छुनेछ । देशभरीका स्थानीयतहमध्येमै कमजोर देखिदै आएको बुढानीलकण्ठले संघलाई कुनै प्रस्ताव पठाउला वा नपठाउला ? भन्ने विषय एकातिर छ भने पठाइहाले कस्तो खाले प्रस्ताव पठाउला ? भन्ने विषय अर्कोतिर छ ।
सपना, कल्पना वा सोचहीन व्यक्तित्व बनेका मेयर मिठराम अधिकारीको विकासका खाकामा उही बाटो, ढलान वा पिचकै विषयबस्तु देखिन्छन् । अझ भनुँ उनीसँग के गर्ने वा के नगर्ने कुनै खाका नै छैन । दिनहुँ घरबाट अफिस आयो, केही थान मानिससँग भेट्यो, केही थान तोक लगायो केही थान स्वीकृतिको रातो मसी चलायो आदिमा आदिमा कर्मकाण्डीय मेयरको भूमिकामा देखिएका मेयरले अनिवार्यरूपमा संघलाइ प्रस्ताव छनौट गरेर पठाउनु पर्यो भने के पठाउलान् ? आफैमा उत्तरबिहीन प्रश्न हो ।
यो प्रश्न अधिकारीलाइ भेटेर सोधियो भने उनी झर्किन त सक्छन् तर योजनाको फेहरिस्त देखाउन सक्दैनन् । कमजोर शैक्षिक पृष्ठभूमिका अधिकारीले बुझ्ने विकास भनेको ०५४ सालतिर कपनमा गरिने वा गरिएका बाटो घाटो खोल्ने वा खोला पुरेर भने पनि बाटो निकाल्ने ढुंगेयुगीन सोच मात्र हो ।
अधिकारी मेयर भएर आएपछि उनका बजेट बिनियोजन तथा नीति तथा कार्यक्रम हेर्यो भने कतै पनि सिर्जनशीलता वा दीर्घकालीन महत्वको विषय भेटिदैन । कर्मचारीहरूद्वारा कपि पेस्ट गरिएका कुनै अरू नगरपालिकाको नीति तथा कार्यक्रमको भाकाहरू मिठाराम अधिकारीले आफ्नो नगरपालिकाको नीति तथा कार्यक्रम भनेर प्रस्तुत गरेका छन् । जसमा बुढानीलकण्ठमा कृषि क्षेत्रमा बाँदर आतङ्क भएको र त्यसलाइ न्युनिकरण गर्न विशेष कार्यक्रम ल्याइनेजस्ता विषयहरू समावेश भएका छन् ।
दिनानुदिन कुरुप बनिरहेको बुढानीलकण्ठले ०७९ को स्थानीय चुनावमा जानीबुझी खोला मासेर सडक बनाउने कार्यमा सिद्धहस्त मिठाराम अधिकारीलाइ मेयरको रूपमा चुनेको थियो । मेयर चुनिएर आएपछि अधिकारीले कुनै पनि उत्साह पैदा गर्ने सोच नागरीकसामु पस्कन सकेका छैनन् । उनको कार्यशैलीप्रति उनकै समकक्षी उपमेयरसहित वडाध्यक्षहरू नै खुशी नभएको कुारा बेला सार्वजनिक भएको छ । केही प्रभावशाली वडाध्यक्षसँग मेयर अधिकारीको बोलचाल नै बन्द भएको देखिन्छ ।
यस्तो अबस्थामा बुढानीलकण्ठले कस्ता कस्ता लागनीयोग्य योजना संघलाइ प्रस्ताव गर्ला वा गर्दै नगर्ला सोचमग्न विषय देखिन्छ ।