काठमाडौं खबर पुस २, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयमा भागबण्डामा नभई योग्यताको आधारमा पदाधिकारी नियुक्ति गर्ने आश्वासन दिएका छन् । सोमबार दशरथ रंगशालामा आयोजित दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले भागबन्डाको अन्त्य गरी मेरिटका आधारमा पदाधिकारी नियुक्त गर्ने बताएका छन् ।
सोमबार दिउँसो त्रिपुरेश्वरमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो घोषणा गरेका हुन् । ‘आजको यो दिक्षान्त समारोह नेपालको इतिहासमा मात्रै ऐतिहासिक बनेन, विश्व इतिहासमा नै दीक्षान्त समारोहको तमाम शृङ्खलामा एउटा रेकर्ड हुन गयो। म आज यस अवसरमा त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागभण्डाको अन्त्य गर्ने मेरिटको आधार भिसी लगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता तपाईहरूको अगाडि व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने।
जसका लागि देशभित्र र बाहिर रहेका विज्ञ नेपालीहरूलाई प्रधानमन्त्री प्रचण्डले आह्वान गरे।