काठमाडौं । काठमाडौंको मौलिक बस्ती टोखामा २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले ध्वस्त भयो । टोखा नगरपालिकामा भूकम्पबाट क्षति भएका १८०० घरमध्ये १७९७ वटा घर मौलिक शैलीमा बने भने अहिले ३ वटा घर मात्रै पुरानै शैलीमा रहेको एउटा अध्ययनले देखाएको छ । भूकम्पपछि टोखाको मौलिकतामा परेको असरको बारेमा गरिएको अध्ययनबाट सो निष्कर्ष निस्किएको हो । सो अध्ययनमा संलग्न अनुसन्धानकर्ता डा पशुपति न्यौपानेका अनुसार सामानको अभाव, खर्च धेरै लाग्ने जस्ता कारणले स्थानीयले मौलिक घर बनाउन छाडेको भेटिएको छ ।
यो भेगमा हाल पुरै कंक्रिटको गगनचुम्बी घर ठडिएको छ। लिच्छिविकालीन बस्ती अहिले कंक्रिटको जंगलजस्तो भएको छ। यसले इतिहास, संस्कृतिसँगै मौलिक निर्माण प्रविधि पनि विस्थापित भएको छ। काठमाडौंको टोखामा पनि यसको उदाहरण देखिएको छ ।
नयाँ शैलीको घर र स्थानीयको ठाउँमा बाहिरी मानिसको बाहुल्य बढ्दै जाँदा यहाँको मौलिकता र सांस्कृतिक सम्पदा लोप हुने खतरामा रहेको छ । परम्परागत घर निर्माणसम्बन्धी जानकार दिलेन्द्र श्रेष्ठ आधुनिक भवन निर्माणले विश्वसम्पदामा सूचीकृत ललितपुरका ऐतिहासिक क्षेत्र मात्र नभई काठमाडौं र भक्तपुरको पनि पुरातात्विक महत्व घट्ने खतरा बढेको बताउँछन् ।
तालिम लिने कोही पनि भेटिएनन्
पुनर्निर्माणको क्रम चल्दै गर्दा २०७४ मा नयाँ स्थानीय सरकार गठन भएपछि टोखा नगरपालिकाले भक्तपुर र ललितपुरबाट कालीगढ ल्याएर परम्परागत शैलीको घर बनाउने तालिम दिने निर्णय गरेको थियो । यो तालिम निःशुल्क दिइने र तालिमपछि रोजगारीको अवसरका लागि पनि सहजीकरण गर्ने बताइएको थियो । तर सो नि:शुल्क तालिममा एक जनाले पनि सहभागिताको इच्छा देखाएनन् । जसले गर्दा टोखामा इच्छाशक्तिसमेत धेरैमा भएको नभेटिएको अध्ययनकर्ताको अनुभव छ । जसले गर्दा बिस्तारै टोखाको मौलिकता र संस्कृति संकटमा परेको देखिएको छ ।
कहिलेदेखि सुरु भयो आधुनिक शैलीका घर ?
८० वर्ष अघिसम्म उपत्यकामा घर भनेकै ढुंगा, इँटा, माटो, काठ, बाँस, खर, पराल, झिंगटी, सिलेट, खपडाजस्ता वस्तुबाट बन्थ्यो। तर अहिले गिट्टी, बालुवा, सिमेन्ट, रड, इँटा, ब्लक, ढुंगा, टिन (जस्तापाता), स्टिल, आल्मुनियम, सिसा, प्लास्टिकजस्ता सामानबिना घर निर्माण असम्भवजस्तै भएको छ। घर निर्माणमा पश्चिमा प्रभावकै परिणाम हो, पिलर र सिमेन्टको प्रयोग। त्यसैले पनि अहिले सबैतिर एकै प्रकारका घर बन्न थालेका छन्।
संस्कृतिविद् स्व सत्यमोहन जोशीका अनुसार १९९० सालको भूकम्पपछि मात्रै नेपालमा आधुनिक शैलीका घर निर्माण हुन थालेको हो। ९० सालको महाभूकम्पले भत्किएका घरको पुनर्निर्माणका लागि तत्कालीन सरकारले बेल्जियमबाट जस्तापाता झिकाएर सर्वसाधारणलाई वितरण गरेको जोशीले बताएका थिए । जोशीले भूकम्पपछि नै उपत्यकामा पहिलो पटक सिमेन्ट भित्रिएको बताए। ‘पहिलोपटक सिमेन्टले बनाएको सरस्वती सदन देखेपछि त्यसैलाई हेरेर इन्द्रचोकमा एक सर्वसाधारणले कंक्रिटको घर बनाएका थिए । ९० सालको महाभूकम्पपछि शुरू भएको कंक्रिट घर निर्माणले ८ दशकको यात्रामा अधिकांश मौलिक घरलाई विस्थापित गरिसकेको छ ।